
प्रधानमन्त्री सुशीला कार्कीले आज 'जेनजी' आन्दोलनका सहिद परिवारलाई भेटेकी छीन्। बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी हुन् । अरू के के भए ? मुख्य समाचारहरू ।
प्रधानमन्त्री कार्कीले भेटिइन् 'जेनजी' आन्दोलनका मृतकका परिवार
प्रधानमन्त्री सुशीला कार्कीले आज 'जेनजी' आन्दोलनका सहिद परिवारलाई भेटेकी छन् । बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।
साथै, उनले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको सचिवालयले जनाएको छ ।
अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न विपद् प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी नभएसम्म असोज २० गतेसम्म यात्रा नगर्न आहवान गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्राधिकरणका अनुसार नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको छ ।
फेरिन निर्वाचन तालिका, संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने
आगामी फागुनमा प्रतिनिधि सभाको चुनाव भएसँगै निर्वाचन तालिका फेरिने भएको छ । प्रतिनिधि सभा विघटन भएर आगामी फागुनमा चुनाव हुने भएपछि एकसाथ चुनाव हुने अवस्थाको अन्त्य हुन लागेको हो ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ म भएपनि प्रदेश सभाको चुनाव २०८४ सालमा हुनेछ । सोही वर्ष स्थानीय तहको समेत निर्वाचन हुनेछ । प्रदेश सभाको भन्दा पहिले स्थानीय तहको निर्वाचन हुनेछ ।
प्रदेश सभाको पछिल्लो चुनाव ४ मंसिर २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिने गरी चुनाव हुँदा २०८४ को मंसिर वरिपरि नै चुनाव हुनेछ । यस्तै स्थानीय तहको चुनाव २०८४ को वैशाख अन्तिम साता वरिपरि नै हुनेछ ।
जेनजी आन्दोलनमा मधेस प्रदेशमा ७ करोड बढी क्षति
जेनजीको आन्दोलनमा मधेस प्रदेशमा २ सय ९७ कार्यलयमा तोडफोड भएको छ । आन्दोलनको क्रममा ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७ करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ ।
क्षतिग्रस्त सबै कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् ।
अस्थायी भवनमा सारियो बागमती प्रदेशको ६ मन्त्रालय
बागमती प्रदेशका ६ वटा मन्त्रालयलाई अस्थायी भवनमा सारिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका मन्त्रालयहरूको सेवा प्रवाह र विकास निर्माणको कामलाई निरन्तरता दिन प्रदेशका मन्त्रालयहरूलाई अस्थायी भवनहरूमा स्थानान्तरण गरिएको हो ।
आगजनीबाट क्षति पुगेका८ वटा मन्त्रालयमध्ये ६ वटालाई अस्थायी रूपमा कार्य प्रारम्भ गर्न सरकारी स्वामित्वका भवनहरूमा स्थानान्तरण गरिएको छ ।
नेपालको विस्तारित ऋण सुविधा आईएमएफले स्वीकृत गर्यो
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ। आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौँ समीक्षाबाट विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार, आईएमएफको विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको छैटौँ समीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ । अर्थमन्त्री खनालले अनुसार आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ छैटौँ समीक्षालाई अनुमोदन गरेको हो। यस स्वीकृतिसँगै नेपालले ईसीएफ कार्यक्रम अन्तर्गत थप वित्तीय सहयोग प्राप्त गर्ने बाटो खुलेको छ।