कपिलवस्तु - स्वास्थ्य र सामाजिक समावेशीकरणका सवालमा समुदायस्तरमा संवाद गर्ने उद्देश्यसहित मण्डला थिएटर नेपालको नाटक ‘फर्किने बाटो’ लिएर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा नाट्य यात्रा सुरु भएको छ।
जर्मन विकास सहयोग (जीआईजेड) को सहकार्यमा सञ्चालन भइरहेको यस यात्रामा नाटकसँगै अन्तरक्रियात्मक खेलमार्फत समुदायका सवालमा छलफल, अनुभव आदानप्रदान र सामूहिक सहभागितालाई प्रोत्साहन गरिनेछ।
यात्राको पहिलो प्रदर्शन आज कात्तिक ९ गते साँझ ४ बजे कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित गाउँपालिका सभा हलमा हुँदैछ। नाट्य यात्राका लागि काठमाडौँ र सुदूरपश्चिमबाट आएका कलाकारहरू कपिलवस्तुमा भेला भएर प्रदर्शनको तयारी पूरा गरेका छन्।
यसै क्रममा आजै दाङस्थित स्वास्थ्य निर्देशनालयमा अन्तरक्रियात्मक खेलसम्बन्धी सहजीकरण कार्यक्रम पनि सञ्चालन हुँदैछ। उक्त कार्यक्रममार्फत सहभागीलाई स्वास्थ्य तथा सामाजिक सवालमा आफ्ना अनुभव र धारणा साझा गर्न तथा सामूहिक छलफलमा सहभागी हुन प्रोत्साहित गरिनेछ।
विजयनगरबाट सुरु हुने नाट्य टोलीको यात्रा लुम्बिनी हुँदै सुदूरपश्चिमका विभिन्न स्थानीय तहसम्म पुग्नेछ। निर्धारित कार्यक्रमअनुसार कात्तिक ११ गते झिमरुक गाउँपालिका, १३ गते नेपालगञ्ज, १५ गते पञ्चदेवल विनायक नगरपालिका, १७ गते त्रिवेणी नगरपालिका र १९ गते आलिताल गाउँपालिकामा नाटक प्रदर्शन गरिनेछ।
‘फर्किने बाटो’ मञ्चीय प्रस्तुतिमार्फत समुदायमा रहेका विभिन्न सवाल उजागर गर्दै दर्शकलाई तिनमा सोच्न, छलफल गर्न र आफ्नो धारणा व्यक्त गर्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको नाटक हो। मनोरञ्जनसँगै सामाजिक विषयमा विमर्श गर्ने अवसर प्रदान गर्ने यस प्रस्तुतिले स्थानीय समुदायका अनुभव र सरोकारलाई संवादको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ।
नाटक प्रदर्शनसँगै सञ्चालन हुने अन्तरक्रियात्मक गतिविधिले स्वास्थ्य र सामाजिक समावेशीकरणका विषयलाई समुदायस्तरमा छलफलको विषय बनाउने आयोजकको अपेक्षा छ। स्थानीय तह, समुदाय र सरोकारवाला निकायको सहभागितालाई महत्त्व दिइएको यस यात्राले नाटकलाई सामाजिक संवादको माध्यमका रूपमा उपयोग गर्नेछ।
मण्डला थिएटर नेपालले सम्बन्धित स्थानीय तहका बासिन्दा, सरोकारवाला निकाय तथा दर्शकलाई नाटक प्रदर्शन र अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ।

