Harsamaya
गेर्खुटार कालिका-एक धार्मिक धरोहर
ग्राफिक्स : हर समय/Har Samaya

नुवाकोट - विदुर नगरपालिका-१०, गेर्खुटार समग्र नेपालकै प्राकृतिक तथा धार्मिक सम्पदाको अथाह खानी हो र हरेक स्थान, मठ-मन्दिर तथा स्थलहरुको आफ्नै मौलिक इतिहास छ। तर नेपालका अत्यन्त महत्वपुर्ण अवयवहरुको खोज ,अनुसन्धान र अन्वेषणको अभावमा हामीले त्यस्ता महत्वपुर्ण वस्तुहरु बारे ज्ञानार्जन गर्न पाएका छैनौं र त्यस्ता चिजहरु प्रकृतिको गर्वमा विलीन भएर जानकारीबाट बञ्चित हुनु परिरहेको छ । 

मानिसहरुको विश्वास, आस्था र विश्वासले परम्परात्मक चलनको हामीले अनुसरण गर्दै आइरहेको छौं। इतिहासको तथ्यगत प्रमाण भएको विषयलाई ऐतिहासिक दस्तावेजको रुपमा अंकित भएर वास्तविक इतिहासको रुपमा हामीले पढ्न पाइरहेका छौं। हुन त विजेताको मात्र इतिहासको रुपमा वर्णन गरिने हाम्रो परम्परा छ र विश्वास, आस्था र प्रचलन, किम्वदन्ती वा पुर्खान्तरको वर्णनलाई इतिहासको कोटीमा नराख्ने हाम्रो समाजको परम्परा नै हो । 

ऐतिहासिक खोज, अनुसन्धान र अन्वेषणलाई मिहीन रुपमा हेर्ने गरेमा इतिहासलाई विश्वास गर्ने आधार बन्छ । इतिहासमा तिथिमिति बाहेक सबै वर्णन काल्पनिक हुन्छ भन्ने इतिहासकारहरुको धारणालाइ पनि नजरअन्दाज गर्न सकिदैन । इतिहास निर्माणको लागि आवश्यक पर्ने शिलापत्र, ताम्रपत्र, बिभिन्न दस्ताबेज, सन्धिपत्र, ऐतिहासिक लेखहरु, किम्वदन्ती, ठ्यासफु इत्यादिका सबल प्रमाणित नभए पनि कतिपय स्थानहरुलाई धार्मिक आस्था, विश्वास र परम्परात्मक चलनहरुलाई आधार मानेर पनि ऐतिहासिक तथा धार्मिक धरोहरको रुपमा मान्नु पर्ने हुन्छ। 

गेर्खुटार कालिकालाई पनि वरपरका गाउॅलेहरुले अगाध आस्था र विश्वास गरेर साक्षात कालीका माइको रुपमा विगत २८० वर्ष अघिदेखी पुज्दै आइरहेका र नेपालको इतिहाससॅग पनि तादात्मय भएकोले गाउॅबासीहरुको धार्मिक धरोहरको रुपमा मान्न सकिने प्रशस्त आधारहरु रहेका छन्। नेपाल एकीकरण अभियानमा श्री ५ पृथ्वी नारायण शाहले वि.सं. १८०१ मा तेश्रो पटक नुवाकोट आक्रमण गर्ने क्रममा गेर्खुटार कालिकाको स्थापना गरेको अनुमान गरिएको छ। 

गोरखाबाट कालीको शिळा सेनानायक कालु पॅाडेले ल्याएर स्थापना गरेका कुराहरु पाँडेवंशका अग्रजहरुले पछिल्लो पुस्ताका खलकहरुलाई बताउॅदै आएको भनेर भन्ने गरिन्छ। त्यसबेलाको समाज पूर्णधार्मिक विश्वासमा चल्ने भएको हॅुदा काली(कालिका)लाई आफूसँग लिएर हिड्ने तथा पूजा-आराधना, ध्यान गर्ने गरेको हुन सक्ने कुरालाई पनि नजरअन्दाज गर्न सकिदैन्। गेर्खुटार कालिकाको मन्दिरमा दशैंका पूजा-आजा र फूलपाती भित्र्याउने जस्ता कार्यहरु हनुमान ढोका र नुवाकोट दरबारको जसरी नै गरिने परम्पराले पनि सो कुरा पुष्टि गर्न सकिन्छ। 

घटस्थापनाको दिन कोतघर(दशैंघर)मा सबै गाउॅलेहरुले पूजा सामग्रीहरु ल्याई सबैको सहभागितामा जमरा राख्ने र बडादशैंको दिन सबैजनाले कोतघरबाट ल्याएको जमरा र आफ्नो घरमा राखेको जमरा मिसाइ बडादशैंमा लगाउने गरिन्छ । 

फूलपाती भित्र्याउॅदा पनि सबै गाउॅलेहरुले बाजा-गाजा सहित गाउॅ परिक्रमा गरी कालिका स्थानमा भेला भइ त्यही भित्र्याइएको फूलपाती घर-घरमा लगी घरमा फूलपाती भित्र्याउने गर्दछन। फूलपाती भित्र्याउने समयमा नुवाकोट दरबारमा जस्तै पाँडेवंशका अग्रजले खुडा समाती शक्ती, काली र हतियारलाई उठाइ अर्पण गर्ने (काला स्यैलुट हार्जेट अम,पावर र आर्म स्यालुट)गर्ने गरिन्छ। तत्पश्चात कुभिण्डोको बली दिने र नवमीको दिन कालीका माइमा बोकाको बली दिने काम पनि गरिन्छ । 

राष्ट्रले फूलपाती भित्र्याउने र नवमीको बली पनि दिइने भएकोले कालीका माईको धार्मिक महत्व ऐतिहासिकतासॅग जोडिएको मान्न सकिन्छ। कालिका मन्दिरमा रहेको विशाल शिला धेरै पुरानो र शिलासॅगै रहेको पिपलको वृक्ष अन्दाजी २८० वर्ष पुरानो रहेको विश्वास गरिन्छ। पछिल्लो समयमा स्थापना गरिएका मूर्तीहरु र चढाइएका घण्ट,छत्रहरुमा उत्कीर्ण मिती बाहेक २८० वर्ष अघिको कुनै पनि प्रमाणहरु नभएको(भए पनि समयक्रममा नष्ट भएको हुन सक्ने)कारणबाट र धर्मभिरु समाज घट्दै गएका कारणबाट कालिका माईको महत्व कम हॅुदै गइरहेको हो कि जस्तो पनि देखिन्छ । तर आफ्नो मनोकांक्षा पुरा होस भनेर भाकल गर्ने, भाकल अनुसार पूजा गर्ने र कुनै पनि नयॅा काम थालनी गर्दा काम पुर्ण होस भनेर कालिकालाई पूजा आराधना गर्ने धार्मिक ब्यक्तीहरुको संख्या बढ्दै गइरहेको देखिन्छ। 

वर्षा नभएमा जलधारा गर्ने र चामलको भात चढाउने ,गाउॅमा रोगब्याधी नलागोस भनेर कम्मरपाठी बली दिइ सन्सारी पूजा गर्ने प्रचलन पनि कालिका माईसॅग जोडिएर वर्षेनी मनाउॅदै आइरहेको छ । हरेक वर्ष देबीघाट जालपा मन्दीरमा जस्तै पुष महिनामा तथा कार्तिक एकादशीमा बेलुका पूजा गरी रातभर मादी बाली त्रिशुली नदीमा बिसर्जन गर्ने र फुल तार्ने चलन अहिलेसम्म चल्दै आएको छ । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्दा पहिलो पाइला स्वरुप त्रिशुली नदी पार गरेको स्थान शुभघाट((A gaint step forward to unification)कालिका मन्दिर गेर्खुटार भन्दा केही तल्लो भाग त्रिशुली नदीको किनारमा पर्दछ । शुभघाट इतिहासमा बर्णित स्थान हो। 

गोरखा दरबारबाट १७ कोषको दुरीमा पर्ने शुभघाट(गेर्खुटार)बाट नेपालको राजधानी ९ कोषको दुरीमा छ र गेर्खुटारको सडकमा कोष अंकित कोषे ढुंगाको अबशेष केही समय अघिसम्म रहेको कुरा अग्रजहरुले बताउॅदै आएका छन ।

कोष अंकित ढुंगालाई प्रमाण मानेर नेपाली सेनाले हरेक वर्ष पृथ्वी जयन्तीको अबशर पारेर गोरखाबाट ज्योती बालेर गेर्खुटार हॅुदै कालिका माईलाई परिक्रमा गरी सिंहदरबार पृथ्वी नारायण शाहको सालिकमा अर्पण गर्ने गर्दै आएको छ ।

पृथ्वी नारायण शाह हिडेको सो मार्ग “एकीकरण पदमार्ग”को नामले परिचित छ । 

गेर्खुटार कालिका माई साक्षात भगबतीको रुपमा गेर्खुटार, गेर्खु, सिमुटार, भोटेबिसौना भेगका जनताहरुले पूजा आराधना गर्दछन । कालिकाको मन्दीरमा गएर सत्य/असत्य पत्ता लगाउन धर्म बकाउने प्रचलन अद्याबदिक छ। कुनै कुरा अपराधीले झुठो बक्यो भने तत्काल रगत छादेर मर्छ भन्ने विश्वास गरेर मन्दिरभित्र धर्म बकाउन लैजाने गरिन्छ । यस कुराको अन्तर्य मनोबैज्ञानिक कारण पनि हुनसक्छ। यस क्षेत्रका धार्मिक आस्था भएका जनताहरुको अटल बिश्वाश रहेको मन्दिरमा समय-समयमा सब्दाह, पुराण, चण्डी पाठ गर्ने पनि गरिन्छ । बडा दशैको नवरात्रभरी पूजापाठ र जमरामा नित्य पूजा गर्ने ब्यबस्था पनि गरिएको छ । ती सबै कार्यको ब्यबस्थानको लागि कालिका संरक्षण समिती गठन गरिएको छ । हाल सो समितीले मन्दिरको भौतिक संरचना निर्माणमा बिशेष ध्यान दिएर जिर्णोध्दारका कामहरु गरिराखेकोछ र बिशेष गरी कोतघर(दशैंघर)तथा भजन कक्षहरु बनाएको देखिन्छ । स्थानीय निकायका प्रमुख/उप-प्रमुखले गत वर्ष कालिका संरक्षण समितिको कार्यक्रममा ब्यक्त गरेका सहयोगको बचनबध्दता पुरा गर्ने अपेक्षा पनि गाउबासीले गरेका छन। ऐतिहासिक महत्वको मन्दिर भएकोले पुरतत्व बिभागबाट पनि भौतिक संरचना निर्माण कार्यमा सहयोगको लागि संरक्षण समितीले अनुरोध गरेको छ। 

नुवाकोट जिल्लाभित्र ऐतिहासिक तथा धार्मिक महत्वका धेरै स्थानहरु छन। अझ नुवाकोट नै करिब २५ वर्षसम्म नेपालको राजधानी रहेको स्थान रहेकोले ऐतिहासिक तथ्य उजागर गर्ने प्रशस्त प्रमाणहरु रहेका छन। गेर्खुटार कालिका पनि नुवाकोट स्थानबाट नजिक रहेको मन्दिर भएको हॅुदा इतिहासका तथ्यहरुसॅग यो मन्दिर पनि निश्चित रुपले जोडिएको कुरालाई बिर्सन मिल्दैन। समग्र नुवाकोटको पर्यटकीय पदमार्गहरुको पहिचान गरी बिकाश गर्न भृकुटी पदमार्ग (गेर्खुटारको मध्य भाग हॅुदै तिब्बत जाने) तथा धार्मिक तथा पर्यटकीय पदमार्ग कायम गर्न पर्यटन बोर्ड तथा गन्तब्य नेपालले दुइ वर्ष अघि एक योजना तयार गर्न सो पदमार्गको भ्रमण गरेको पनि थियो । 

सो पदमार्ग नुवाकोटको पर्यटकीय क्षेत्र ककनीबाट सुरु गरी चिम्टेश्वर,जिलिङ्, देबिघाट जालपा, नुवाकोट र भैरबी, गेर्खुटार हॅुदै सुर्यगढी, दुधेलामा-कालिकाबाट सियॅाले सम्म सो टोलीले पैदल भ्रमण गरेको थियो। तत्पश्चात रसुवा जिल्लामा पर्ने उत्तरगया(नुवाकोटमा पनि), त्रिशुली नदी पार गरी मानेगाउॅ, ताजी, ठुलो गाउॅ हुदै ढुंगे(घलेगढी )र कालिका स्थानसम्मको पर्यटकीय मार्ग बनाउने भनी स्थान पहिचान गरिएको थियो। यस कार्यको कार्यान्बयन गर्न पर्यटन बोर्ड,सम्बन्धित पालीका तथा जिल्ला समन्बय समितीले अग्रसरता लिन एकदम जरुरी भइसकेको छ । 

यसै क्रममा पर्यटकीय महत्व समेत बोकेको सबै जनको धार्मिक धरोहर गेर्खुटार कालिकाको उचित संरक्षण र भौतिक बिकासको लागि सबै पक्षसॅग अपेक्षा गरिएको छ । 

(इतिहासका अध्यता तथा पुर्ब प्रशासक रेशम बहादुर पॅाडे गेर्खुटारबासी हुन्)

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update