काठमाडौं - नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बंशलाल तामाङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै तामाङको विजयलाई जिल्लाको कांग्रेस राजनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका तामाङको विजयले सिन्धुपाल्चोक–२ लाई कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गराएको छ। जिल्लामा लामो समयदेखि नेता मोहनबहादुर बस्नेतको प्रभाव रहँदै आएको अवस्थामा तामाङको निर्वाचित परिणामले क्षेत्रीय प्रतिनिधित्व र पार्टीभित्रको शक्ति सन्तुलनबारे नयाँ बहससमेत सिर्जना गरेको छ।
कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सक्रिय रहेका तामाङले १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुँदा सिन्धुपाल्चोकबाट सर्वाधिक मत प्राप्त गरेका थिए। उक्त परिणामले पार्टीभित्र उनको राजनीतिक प्रभाव र प्रतिनिधिहरूमाझ रहेको समर्थनलाई देखाएको थियो।
स्थानीय तहको राजनीतिबाट उदाएका तामाङ तत्कालीन जिल्ला विकास समितिका सदस्य हुँदै पहिलो स्थानीय तह निर्वाचनमा इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। उनी गाउँपालिका राष्ट्रिय महासंघको महासचिवसमेत भइसकेका छन्। स्थानीय सरकारको नेतृत्वदेखि पार्टीको केन्द्रीय राजनीतिसम्मको उनको यात्रा जिल्लाको कांग्रेस राजनीतिमा उल्लेखनीय बनेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक–२ का उम्मेदवार बनेका तामाङ नेकपाका उम्मेदवार युवराज दुलालसँग पराजित भएका थिए। निर्वाचनमा पार्टीभित्रैबाट असहयोग भएको आरोपसमेत सार्वजनिक भएको थियो। प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुले पार्टी संगठनभित्र उनको राजनीतिक यात्रालाई नयाँ दिशा दिएको छ।
कांग्रेस को १३औं महाधिवेशनमा तामाङ आदिवासी जनजाति कोटाबाटै केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए त्यो बेला उनी पराजित हुन पुगेका थिए ।

