Harsamaya
दसैँमा घर फर्किनेको लर्को, २४ घण्टामै ७८ हजार यात्रु काठमाडौँबाहिर
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै ७८ हजार १३८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने दसैँका लागि अग्रिम बस टिकट बुकिङ गर्नेको सङ्ख्या एक लाख ३० हजार १२९ पुगेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना सुरु भएयता सार्वजनिक सवारीसाधनमार्फत एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका थिए।

दसैँका लागि यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडालगायत नाका हुँदै बाहिरिने क्रम बढेको छ।

यात्रुको चाप बढेसँगै यातायात व्यवस्थापनमा चुनौती थपिएको व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले विभिन्न राजमार्गको बिग्रिएको अवस्थाले सवारीसाधन समयमै गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन समस्या भइरहेको बताए।

असोज २३ गते अग्रिम टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए। त्यसको असरले दसैँका लागि सवारीसाधन व्यवस्थापनमा थप कठिनाइ भएको व्यवसायीको भनाइ छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते संयुक्त रूपमा ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्।

यातायात व्यवसायी महासङ्घले यात्रुलाई अग्रिम टिकट काटेर मात्रै यात्रा गर्न, सरकारले तोकेको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

दसैँमा परिवार र आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा व्यवसायका लागि बसोबास गर्दै आएका मानिस गाउँ फर्किने क्रम बढेसँगै उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहल थपिएको छ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update