काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सिन्धुपाल्चोकका डा. प्रेमध्वज लामा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका लामा १२ जना निर्वाचित हुने प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गर्दै केन्द्रीय राजनीतिमा प्रवेश गरेका हुन्।
लामाको यो जितलाई सिन्धुपाल्चोक कांग्रेसको आन्तरिक राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। लामो समय जिल्लाको राजनीतिमा प्रभाव कायम राख्दै आएका नेता मोहनबहादुर बस्नेतसँग निकट सम्बन्धमा रहेका लामा १४औँ महाधिवेशनपछि भने नयाँ राजनीतिक परिस्थितिमा पुगेका थिए।
१४औँ महाधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार बनेका लामा पराजित भएका थिए। त्यसबेला बस्नेतको साथ नपाएपछि उनको राजनीतिक समीकरणमा परिवर्तन आएको थियो। त्यसयता पार्टी संगठनमा सक्रिय रहँदै आएका लामाले यसपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर आफ्नो राजनीतिक उचाइ बढाएका छन्।
बौद्धिक नेताका रूपमा परिचित लामा त्रिभुवन विश्वविद्यालयको स्थायी जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएका नेता हुन्। लामो समय शैक्षिक क्षेत्रमा बिताएका उनले पार्टी संगठन निर्माण र राजनीतिक गतिविधिमा आफूलाई सक्रिय बनाउँदै आएका छन्।
मोहनबहादुर बस्नेतको प्रभाव बलियो मानिने सिन्धुपाल्चोक कांग्रेसबाट लामाले केन्द्रीय सदस्यमा तेस्रो स्थान हासिल गर्नुलाई जिल्लाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनको विजयले जिल्लाबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व बढाएको छ भने आगामी दिनमा कांग्रेसको जिल्ला राजनीतिमा उनको भूमिका कस्तो हुन्छ भन्ने चासोसमेत बढाएको छ।

