सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट प्रेमकुमार दंगाल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।
कांग्रेसको क्षेत्रीय सदस्यबाट सांगठनिक यात्रा सुरु गरेका दंगाल जिल्ला सदस्य हुँदै बागमती प्रदेश प्रतिनिधि र अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म पुगेका हुन्। उनको यो यात्रालाई पार्टीप्रतिको निरन्तर सक्रियता, निष्ठा र संगठनमा पुर्याएको योगदानसँग जोडेर हेरिएको छ।
दंगालको राजनीतिक आस्था पारिवारिक संस्कार, लोकतान्त्रिक चेतना र बीपी कोइरालाको विचारसँग जोडिएको छ। हजुरबुवाबाट प्राप्त प्रेरणाले कांग्रेसको विचार र सिद्धान्तप्रति आकर्षित भएका उनी राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई पार्टीका आधारभूत आदर्श मान्छन्।
द्वन्द्वको पीडा भोगेको परिवार र सहिद परिवारसँग जोडिएको पृष्ठभूमिले उनको राजनीतिक यात्रालाई थप अर्थपूर्ण बनाएको छ। कठिन परिस्थितिमा पनि पार्टीप्रतिको आस्था कायम राख्दै संगठनमा सक्रिय रहनुलाई उनी आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण आधार मान्छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनुलाई दंगालले वर्षौँदेखिको राजनीतिक निष्ठा र संगठनप्रतिको समर्पणलाई थप जिम्मेवारीका रूपमा अघि बढाउने अवसरका रूपमा लिएका छन्।

