सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्य पदमा वंशलाल तामाङले उम्मेदवारी दिने भएका छन् ।
हालै सम्पन्न कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को अधिवेशनमा खुलातर्फ निर्वाचित हुने १० जनामध्ये तामाङले सर्वाधिक ८११ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका थिए । क्षेत्रीय अधिवेशनमा प्राप्त उक्त मतलाई उनको संगठनात्मक सक्रियताको आधारका रूपमा लिइएको छ ।
तामाङ २०७४ सालमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । उनी गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत बनेका थिए ।
कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय तामाङले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनले कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्य, सचिव, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहितका जिम्मेवारी सम्हालिसकेका छन् ।
विशेष महाधिवेशनका क्रममा पनि सक्रिय रहेका तामाङले यसपटक आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेका छन् ।
तामाङले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका लागि सहयोग र मतको आग्रहसमेत गरेका छन् ।

