काठमाडौं - प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफ्नो सचिवालयको संरचनामा फेरबदल गर्दै कार्यजिम्मेवारीलाई नयाँ ढंगले व्यवस्थित गरेका छन् । कार्यसम्पादन समीक्षा पछि सचिवालयमा रहेका विज्ञ पदहरूलाई संयोजक र उपसंयोजकमा रूपान्तरण गरिएको छ ।
प्रधानमन्त्री शाहले सचिवालयमा पाँच जनालाई संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी तोकेका छन् । यससँगै सचिवालयका सदस्यहरूको भूमिका विज्ञका रूपमा सुझाव दिनेभन्दा विषयगत समन्वय र कार्यसम्पादनमा केन्द्रित हुने गरी पुनर्संरचना गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार सहसचिवसरह सेवा सुविधा पाउने गरी नियुक्त भएका पाँच जनालाई संयोजक र उपसचिवसरह सेवा सुविधा पाउने पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिइएको छ ।
मिडिया व्यवस्थापनको जिम्मेवारी दिपा दाहालले पाएकी छन् । विकास तथा मन्त्रालयगत समन्वयमा सञ्जीव पाण्डे र अन्तरनिकाय समन्वयमा सन्तोष गिरीलाई संयोजक तोकिएको छ । सामाजिक विकास समन्वयमा विश्व राई तथा सरकारी मामिला र योजना समन्वयमा विशाल अधिकारी जिम्मेवारीमा आएका छन् ।
त्यस्तै, उपसंयोजकमा सुमन गौतमलाई नागरिक उड्डयन, रविकिरण अधिकारीलाई सामाजिक विकास, प्रकृति ढकाललाई स्वास्थ्य, विनय शाक्यलाई संस्कृति तथा सम्पदा र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययनको जिम्मेवारी दिइएको छ ।
सल्लाहकार र स्वकीय सचिवालय भने यथावत्
सचिवालयको कार्य संरचनामा हेरफेर भए पनि प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवालयमा भने परिवर्तन गरिएको छैन ।
मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन), स्वास्थ्य सल्लाहकार प्राडा जगदीशप्रसाद अग्रवाल र राजनीतिक सल्लाहकार असिम शाह यथावत् छन् । त्यस्तै, राज्यमन्त्रीसरहका सल्लाहकार सुदीप ढकाल र विवेक मिश्र पनि निरन्तर जिम्मेवारीमा छन् ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा र स्वकीय सचिवमा नवीन भण्डारीले निरन्तरता पाएका छन् ।
कार्यसम्पादन समीक्षापछि गरिएको यो पुनर्संरचनाले प्रधानमन्त्रीको सचिवालयमा विषयगत जिम्मेवारी र समन्वयको संरचनालाई थप स्पष्ट बनाएको छ ।

