Harsamaya
कोइराला, निधि र सिंहले पुर्खाको सम्पतिमात्रै खाने हो ? 
ग्राफिक्स : हर समय/Har Samaya

दशैँअघि एक जना विद्वान् विश्लेषकको अन्तर्वार्ता हेर्ने अवसर मिलेको थियो। उनले महेन्द्रनारायण निधि र बीपी कोइरालाका छोराहरूले आफ्ना पुर्खाको सम्पत्ति खाए हुन्छ, पार्टीमा हिस्सा खोज्न मिल्दैन भन्ने आशयको अभिव्यक्ति दिए । यस्तै तर्क अरू केही विद्वान् विश्लेषकबाट पनि बारम्बार सुनिने गरेको छ।

उनीहरूको यो विश्लेषण सुन्दा एउटा प्रश्न मनमा उब्जिन्छ । के शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहको राजनीतिक योगदान नदेखेरै यस्तो भनिएको हो ? कि उनीहरूको राजनीतिक उचाइ र निरन्तरताप्रति नै खिसीटिउरी गर्न खोजिएको हो ?

विश्लेषकको काम कुनै एउटा पक्षको पक्षपोषण गर्नु र अर्को पक्षलाई होच्याउनु होइन। विश्लेषकले दुवै पक्षका राम्रा र कमजोर पक्ष केलाएर सम्भावित परिणामसहित सही बाटो देखाउने हो। तर, पछिल्लो समय कांग्रेसको आन्तरिक राजनीतिमा विश्लेषक भनिनेहरू नै एउटा पक्षलाई उचाल्न र अर्को पक्षलाई गिराउन तँछाडमछाड गरिरहेको देखिन्छ। कसैको त्यागलाई त्याग देख्ने र कसैको त्यागलाई दाग बनाउने यस्तो प्रवृत्तिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

बीपी कोइरालाको पारिवारिक सम्पत्तिमा प्रकाश कोइराला, श्रीहर्ष कोइराला र शशांक कोइरालाको हिस्सा हुन सक्छ। तर राजनीतिको कुरा गर्दा आज सक्रिय रूपमा राजनीतिमा देखिएका शशांक कोइराला हुन्। प्रकाश कोइराला पनि राजनीतिमा सक्रिय थिए । राजाको शासनकालमा मन्त्री बनेपछि काँग्रेस राजनीतिबाट टाढिए । उनी अहिले सक्रिय राजनीतिमा छैनन् । भोलि प्रकाश कोइराला वा श्रीहर्षले राजनीतिको मैदानमा आएर पार्टीमा आफ्नो योगदान र भूमिका खोजे भने त्यतिबेला सम्पत्तिको विरासतको तर्क गर्न सकिएला । तर, राजनीतिमा निरन्तर सक्रिय रहेको व्यक्तिको योगदानलाई केवल पारिवारिक विरासतको संज्ञा दिएर पन्छाउन मिल्छ त ?

विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका नेताहरूको योगदानमाथि प्रश्न उठाउन पाइन्छ। उनीहरूको राजनीतिक निर्णय, कार्यशैली र क्षमताको समीक्षा पनि हुनुपर्छ। तर त्यही मापदण्ड शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहको हकमा किन लागू हुँदैन ? उनीहरूको योगदान कम देखिएको हो भने के कारणले कम हो, तथ्य र तर्कसहित भन्न सक्नुपर्छ। कसैको योगदानलाई स्वाभाविक मान्ने र कसैको योगदानलाई पारिवारिक विरासत भनेर खारेज गर्ने दोहोरो मापदण्ड बन्द हुनुपर्छ।

कोइराला, निधि र सिंहका पिता वा पुर्खाले राजनीति गरेका थिए, त्यसैले हामीलाई पार्टीमा हिस्सा चाहियो भन्दै आएका होइनन्। उनीहरूका पार्टीमा आफ्नै संघर्ष, त्याग, समर्पण र निरन्तरताका कथा छन्। उनीहरूले राजनीतिक जीवनमा समय, श्रम र अवसर खर्चिएका छन्। उनीहरूको राजनीतिक यात्रालाई एउटा पारिवारिक नाममा सीमित गरिदिनु न्यायसंगत हुँदैन।

कसैको छोरा वा नाति भएर जन्मिनु राजनीतिमा अपराध कसरी भयो ? परिवारको राजनीतिक पृष्ठभूमि हुनु आफैँमा योग्यता पनि होइन र अयोग्यता पनि । अन्ततः व्यक्तिको मूल्यांकन उसको कर्म, क्षमता, विचार र योगदानका आधारमा हुनुपर्छ। पुर्खाको नामले मात्रै नेतृत्व पाउन मिल्दैन भने पुर्खाको नाम भएकै कारण कसैको योगदान अस्वीकार पनि गर्न मिल्दैन।

इतिहासको एउटा कठोर पाटो पनि हामीले बिर्सनु हुँदैन। राणा शासन र पञ्चायतकालमा लोकतन्त्रका लागि संघर्ष गर्ने क्रममा कोइराला, निधि र सिंह परिवारले भोगेका यातना, दुःख र पीडा सामान्य थिएनन्। उनीहरूले भोगेको राजनीतिक प्रतिशोध र पारिवारिक क्षति शब्दमा बयान गरेर सकिँदैन। त्यतिबेला आज कांग्रेसको मसिहा बनेर भाषण गर्नेहरूमध्ये कोही पञ्चायतको भजन गाइरहेका थिए, कोही राजनीतिमा प्रवेश नै गरेका थिएनन्। इतिहासलाई आजको सुविधाजनक राजनीतिक चस्माले मात्र हेर्न मिल्दैन।

प्रजातन्त्र आएपछि ती परिवारले केही राजनीतिक अवसर र जिम्मेवारी पाए होलान्। त्यसलाई राजनीतिक लाभका रूपमा व्याख्या गर्न पनि सकिएला। तर ती अवसर कसैले निगाह गरेर दिएको थिएन। यदि निगाहकै भरमा सबै प्राप्त हुने भए उनीहरूले वर्षौंसम्म राजनीतिक संघर्ष र निरन्तरता किन दिनुपर्थ्यो ? उनीहरूको राजनीतिक यात्रामा समयले केहीलाई किनारामा पुर्‍याएको हुन सक्छ, तर त्यसको अर्थ उनीहरूले केही गरेकै थिएनन् भन्ने होइन।

आज कांग्रेसभित्र एकअर्काको इतिहास खोतल्ने, योगदानको हिसाबकिताब माग्ने र विगतका कमजोरीलाई हतियार बनाएर राजनीतिक प्रतिशोध साँध्ने क्रम बढेको छ। कसले कति जेल बस्यो ? कसले कति त्याग गर्‍यो ? कसको परिवारले कति दुःख पायो ? भन्ने प्रतिष्पर्धाले पार्टीलाई कहाँ पुर्‍याउँछ ? कांग्रेसको इतिहास कुनै एउटा परिवार, एउटा समूह वा एउटा पुस्ताको मात्रै इतिहास होइन। यो हजारौँ नेता, कार्यकर्ता र समर्थकको पसिना, संघर्ष र बलिदानले बनेको इतिहास हो।

अहिलेको आवश्यकता विगतको योगदानको अपमान होइन, वर्तमानको जिम्मेवारी पूरा गर्नु हो । भाषण गर्नु, अन्तर्वार्ता दिनु र सामाजिक सञ्जालमा लामो स्टाटस लेख्नुको तुलनामा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख सुन्नु धेरै कठिन काम हो। गत फागुनको निर्वाचनले पनि भाषण, नारा र पुरानै राजनीतिक दम्भले मात्रै जनताको विश्वास जित्न नसकिने सन्देश दिइसकेको छ। अब नेताहरूले जनतालाई इतिहास सुनाएर मात्रै हुँदैन भविष्यको भरोसा दिलाउन सक्नुपर्छ।

तर, विडम्बना! नेताहरू अझै भाषणमै रमाइरहेका छन्। आफ्नो पक्षको कमजोरी स्वीकार गर्नुको सट्टा अर्को पक्षको धोती खोल्नमै समय खर्चिरहेका छन्। एउटा पक्षका नेताले अर्को पक्षलाई गाली गर्छन्, अर्को पक्षका समर्थकले त्यसको जवाफमा पुराना घाउ कोट्याउँछन्। अनि यही आरोप-प्रत्यारोपलाई आधार बनाएर विश्लेषकका नाममा पक्षधरता बोकेका व्याख्या सार्वजनिक हुन्छन्। यसले कसलाई फाइदा पुगिरहेको छ ? कांग्रेसलाई कि कांग्रेस कमजोर भएको हेर्न चाहनेहरूलाई ?

विश्लेषकहरूले पनि आफ्नो भूमिका बुझ्न जरुरी छ। कुनै एउटा पक्षका नेताको मात्रै अन्तर्वार्ता लिएर अर्को पक्षलाई सधैँ कठघरामा उभ्याउनु विश्लेषण होइन। पार्टी एकताको कुरा गर्ने तर व्यवहारमा एउटा पक्षलाई गाली गर्ने र अर्को पक्षको बचाउ गर्ने प्रवृत्तिले एकता सम्भव हुँदैन। विचार र आलोचना आवश्यक छन् । तर, आलोचनाको उद्देश्य सुधार हुनुपर्छ, विनाश होइन।

त्यसैले अब कांग्रेसका नेताहरूले शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलाई गाली गर्न छाड्नुपर्छ। उनीहरूका कमजोरी छन् भने तथ्यसहित प्रश्न उठाउनुपर्छ । योगदान छन् भने स्वीकार गर्नुपर्छ। कसैको नाम र इतिहास मेटाएर  राजनीतिक उचाइ क्षणिक रुपमा त बढ्ला तर दिगो हुँदैन । अर्काको राजनीतिक यात्रामा धुलो छ्याप्दैमा आफ्ना खुट्टा अग्ला हुँदैनन्।

आफ्नो पक्षसँग राम्रा विचार, योजना, नीति र कार्यक्रम छन् भने ती लिएर जनतामाझ जानुपर्छ । जनताले पत्याए नेतृत्व र शक्ति फेरि हातमा आउन सक्छ। जनताले अस्वीकार गरे आत्मसमीक्षा पुन: गर्नुपर्छ । तर, एकले अर्कालाई समाप्त पार्ने अभियान चलाएर पार्टी बलियो हुन्छ भन्ने भ्रम कोही कसैले नपाले हुन्छ ।

कांग्रेसका दुवै पक्षले बुझ्नुपर्ने कुरा के हो भने पार्टी विभाजनको पीडा अन्ततः कुनै एक नेताले मात्रै भोग्दैन। गाउँमा झन्डा बोकेर हिँड्ने कार्यकर्ताले भोग्छ । वर्षौंदेखि पार्टीका लागि समय र पसिना खर्चिने समर्थकले भोग्छ । कांग्रेसप्रति भरोसा राख्ने आम नागरिकले भोग्छ। नेताहरूको अहंकारको मूल्य कार्यकर्ताले कहिलेसम्म चुकाइरहने ?

कांग्रेसलाई अहिले चर्को गाली गर्ने नेता र विश्लेषक होइन, घाउमा मलम लगाउने नेतृत्व चाहिएको छ। अर्को विभाजनको भाषण होइन, एकताको इमानदार प्रयास चाहिएको छ। अर्को पक्षलाई हराउने रणनीति होइन, जनताको मन जित्ने कार्यक्रम चाहिएको छ।

नेताहरूले बुझुन् पार्टीभित्रको लडाइँ जितेर नेता बन्न सकिएला तर जनताको विश्वास जित्न सहज छैन । अब आरोपको राजनीति होइन, योगदानको राजनीति गरौँ। प्रतिशोध होइन, सहकार्य रोजौँ। किनकि कांग्रेस कसैको पेवा होइन यो लाखौँ कार्यकर्ताको रगत र पसिनाले बनेको साझा घर हो। घरभित्रै आगो लगाएर कसैले आफ्नो आँगन क्षणिक रुपमा उज्यालो बनाउन त सक्ला तर त्यो छिनभरमै अन्धकारमा बदलिनेछ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update