काठमाडौं - मानिसले आफूलाई सबैभन्दा बुद्धिमान प्राणी ठान्छ। नियम बनाउँछ, व्यवस्था चलाउँछ र अरूमाथि शासन गर्छ। तर, त्यही मानिसले आफ्नो स्वार्थ पूरा गर्न नियमकै दुरुपयोग गर्न थाल्यो भने के हुन्छ ? न्याय र समानताको नाममा बनेको व्यवस्थाले नै कमजोरलाई थिच्न थाल्यो भने कसले आवाज उठाउँछ ?
यही प्रश्नको जवाफ खोजिरहेको छ, काठमाडौंको थापागाउँस्थित मण्डला थिएटर नेपालमा मञ्चन भइरहेको नाटक ‘भाग भेडा भाग’ले । मानिस र जनावरको काल्पनिक संसारमा बुनिएको यो नाटकले दर्शकलाई हँसाउँदै मानवीय स्वार्थ, राजनीतिक चलखेल र व्यवस्थाभित्र लुकेका विकृतिमाथि सोच्न बाध्य पार्छ।
कात्तिक ११ गतेदेखि मञ्चन भइरहेको नाटकमा मानिससँगै भेडा, स्याल, कुकुर र चराचुरुङ्गी पात्रका रूपमा देखिन्छन्। यहाँ जनावरहरू केवल मनोरञ्जनका पात्र होइनन्, मानिसकै व्यवहार र प्रवृत्तिलाई ऐना देखाउने माध्यम हुन्। कहिले मानिस जनावरजस्ता लाग्छन् त कहिले जनावरहरू मानिसभन्दा बढी विवेकी देखिन्छन्।
रंगकर्मी संयोग गुरागाईंको लेखन तथा निर्देशनमा तयार भएको नाटकको सहायक निर्देशन सन्तोष गिरीले गरेका छन्। हास्य, व्यङ्ग्य र भावनात्मक पक्षलाई एकसाथ समेटिएको नाटकले गरिब जनताको हितका नाममा बनाइएको व्यवस्थाभित्र कसरी स्वार्थ हाबी हुन्छ र शक्तिमा पुगेकाहरूले कसरी त्यसको दुरुपयोग गर्छन् भन्ने विषयलाई काल्पनिक परिवेशमा प्रस्तुत गरेको छ ।
गुरागाईंका अनुसार ‘भाग भेडा भाग’ काल्पनिक देशको राजनीतिक प्रणाली र त्यसका कमजोरीमाथि केन्द्रित व्यङ्ग्यात्मक नाटक हो। मानिसले आफ्नो हितका लागि बनाएको व्यवस्थामा आफैँले कसरी छिद्र खोज्छ र व्यक्तिगत स्वार्थ पूरा गर्न त्यसको गलत प्रयोग गर्छ भन्ने विषय नाटकको मुख्य आधार रहेको उनी बताउँछन्।
‘सबै नाटकले सन्देश दिनैपर्छ भन्ने मलाई लाग्दैन। नाटकको पहिलो उद्देश्य मनोरञ्जन पनि हो। ‘भाग भेडा भाग’ हास्यरसले भरिएको नाटक हो। तर, यसलाई फरक दृष्टिकोणबाट हेर्दा फरक अर्थ भेटिन्छ। जनावरको दृष्टिकोणबाट हेर्दा चेतनाका कुरा भेटिन्छन् भने मानिसको कथालाई पछ्याउँदा मानिस कति धूर्त हुन सक्छ भन्ने बुझ्न सकिन्छ,’ गुरागाईं भन्छन्।
उनका अनुसार नाटक हेर्दै गर्दा दर्शकलाई कहिले मानिसहरू जनावरजस्ता र कहिले जनावरहरू मानिसजस्ता लाग्न सक्छन्। यही उल्टो देखिने संसारमार्फत नाटकले मानिसको वास्तविक चरित्र र सामाजिक व्यवस्थाका कमजोरीलाई उजागर गर्ने प्रयास गरेको छ।
सन् २०११/१२ देखि रंगकर्ममा सक्रिय गुरागाईंले यसअघि ‘जुन’, ‘मैन्दानी’, ‘अतिरञ्जनको मनोरञ्जन’, ‘रोगन’, ‘लाहुरी भैंसी’ र ‘रेलवे टु नोवेयर’ लगायतका नाटक लेखिसकेका छन्। ‘भाग भेडा भाग’ उनको आफ्नै निर्देशनमा तयार भएको छैटौँ नाटक हो।
नाटकको पहिलो दिनको मञ्चन हेरेका दर्शकले पनि यसको कथावस्तु, कलाकारको अभिनय र राजनीतिक व्यङ्ग्यको प्रशंसा गरेका छन्। विशेषगरी व्यवस्थाभित्र हुने चलखेललाई हास्यात्मक शैलीमा प्रस्तुत गरिएको पक्षले दर्शकको ध्यान खिचेको छ।
दर्शक तथा कलाकार मोहन भण्डारीलाई नाटकमा देखाइएको राजनीतिक दाउपेचले छोएको छ। उनका लागि नाटक मनोरञ्जनमा मात्रै सीमित छैन, यसले राजनीतिक व्यवस्थाभित्र हुने चलखेललाई पनि व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको छ।
‘भाग भेडा भागको कथा निकै राम्रो लाग्यो। विशेषगरी यसमा देखाइएको राजनीतिक दाउपेचले मलाई छोयो। नाटकले मनोरञ्जन मात्रै दिएको छैन, राजनीतिक व्यवस्थाभित्र हुने चलखेललाई पनि व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको छ। कलाकारहरूको अभिनय र कथाले भन्न खोजेको भाव दुवै मन परे,’ उनले भने।
त्यस्तै, नाटक हेर्न पुगेकी स्वस्ति कार्कीले नयाँ कलाकारहरूको अभिनय प्रशंसनीय रहेको बताइन्। यसअघि निर्देशक गुरागाईंसँग दुई वटा नाटकमा काम गरिसकेकी उनले कलाकारहरूको मेहनत मञ्चमा देखिएको प्रतिक्रिया दिइन्।
मोडल गणेश धामीले पनि नाटकमा हास्य र भावनात्मक पक्षको संयोजन मन परेको बताए। आफ्ना दाइ नवीन धामीको अभिनय हेर्न नाटकघर पुगेका उनले विशेषगरी भेडाको भूमिकामा देखिएका कलाकारहरूको अभिनय प्रभावशाली लागेको सुनाए।
‘भाग भेडा भाग निकै रमाइलो र भावनात्मक नाटक लाग्यो। कलाकारहरूले आ–आफ्नो भूमिकालाई निकै राम्रोसँग प्रस्तुत गर्नुभएको छ। नाटकमा हास्यसँगै भावनात्मक पक्ष पनि उत्तिकै बलियो छ। छोटो र मीठो प्रस्तुतिभित्र धेरै कथाहरू समेटिएका छन्,’ उनले भने।
नाटकमा क्रिस बम, अनिता थापा, राजेश सेन्चुरी, सन्ध्या नेपाल, यश श्रेष्ठ, महेश गिरी, अंकित सिंह हमाल, निखिला चापागाईं, अस्मिता तामाङ, राजाराम गौतम, आकाश केसी, अञ्जु चौलागाईं, प्राश बुढा क्षेत्री, प्रशंसा आचार्य, भुवन सिंह ठकुरी, धिरज पहराई मगर, अर्मान श्रेष्ठ, आसिका केसी, नवीन धामी र विशाल राजले अभिनय गरेका छन्।
कात्तिक ११ गतेदेखि सुरु भएको नाटक कात्तिक २१ गतेसम्म मण्डला थिएटर, थापागाउँमा मञ्चन हुनेछ। सोमबारबाहेक प्रत्येक दिन साँझ ५ः१५ बजे प्रदर्शन हुने नाटकको शनिबार दिउँसो १ः३० बजे अतिरिक्त प्रदर्शन राखिएको छ। नाटकको टिकट फोनपेमार्फत अनलाइन बुकिङ गर्न सकिने व्यवस्था छ।
‘भाग भेडा भाग’ले मानिसको कथा भन्न जनावरको सहारा लिन्छ। जनावरका पात्रमार्फत मानिसकै स्वार्थ, धूर्तता र शक्तिको दुरुपयोगलाई देखाउँछ। मञ्चमा देखिने पात्र काल्पनिक भए पनि तिनको व्यवहार र प्रवृत्ति भने दर्शकले आफ्नै समाजमा भेट्न सक्छन्।
तस्वीरहरु :

