नुवाकोट - बाढीले पुल मात्र बगाएन, बिरामीको उपचार पाउने सहज बाटोसमेत खोसिदियो । गम्भीर बिरामीलाई समयमै अस्पताल पुर्याउन मुस्किल छ, थप उपचारका लागि काठमाडौं पठाउन गाडी फेर्नुपर्छ । कतिपयलाई स्ट्रेचरमा बोकेर नदी पार गराउनुपर्ने बाध्यता छ । मृत्यु भएकाहरूको शवसमेत बोकेर पुल पार गराउनुपर्ने अवस्था छ । यो पीडा नुवाकोटस्थित त्रिशूली अस्पताल र नदीपारिका नागरिकले भोगिरहेका छन् ।
रसुवा–भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले क्षति पुर्याएका पुल पुनर्निर्माण हुन नसक्दा त्रिशूली अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ । बाढीले सडक र पुलको सम्पर्क टुटाएपछि उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या घटेको छ भने आकस्मिक उपचार, गम्भीर बिरामीको उद्धार र औषधि आपूर्तिसमेत चुनौतीपूर्ण बनेको छ ।
कुनै समय दैनिक ६ सयदेखि ८ सयसम्म बिरामीको उपचार गर्ने त्रिशूली अस्पतालमा पुलमा आवागमन अवरुद्ध भएपछि बिरामीको सङ्ख्या घटेर २ सयदेखि ४ सयमा सीमित भएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि पैदल आवागमन केही सहज बनेको छ । अहिले बिरामीको सङ्ख्या बढेर दैनिक चारदेखि पाँच सयसम्म पुगेको छ । तर, सवारीसाधन चल्ने पुल नबन्दा अस्पतालले भोगिरहेको सास्ती अझै हटेको छैन ।
अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार झोलुङ्गे पुल बनेपछि बिरामीको आवागमनमा केही सुधार आएको छ । तर, बिरामीलाई सुरक्षित र छिटो अस्पताल पुर्याउन तथा आवश्यक परे अन्य अस्पतालमा लैजान मोटरेबल पुलको विकल्प छैन ।
‘पुल नबन्दा हामीलाई धेरै गाह्रो भएको छ । पहिले दैनिक ६ सयदेखि ८ सय बिरामी आउँथे । पुलमा समस्या भएपछि त्यो सङ्ख्या घटेर २ सयदेखि ४ सयमा झर्यो । अहिले झोलुङ्गे पुल बनेपछि बिस्तारै बिरामीको सङ्ख्या बढेर दैनिक चार–पाँच सयसम्म पुगेको छ । तर, सवारीसाधन चल्ने पुल नबन्दासम्म समस्या समाधान हुँदैन,’ निर्देशक लामाले भने ।
गम्भीर बिरामीलाई गाडी फेरेर लैजानुपर्ने बाध्यता
स्वास्थ्य उपचारमा एक मिनेटको ढिलाइले पनि महत्त्व राख्ने अवस्थामा पुलको अभावले बिरामीलाई अस्पताल पुर्याउने र थप उपचारका लागि अन्यत्र लैजाने काम कठिन बनाएको छ । त्रिशूली अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं रेफर गर्नुपर्दा सवारीसाधन सिधै आवतजावत गर्न नसक्ने समस्या छ ।
पुलको एकातर्फबाट अर्को गाडीमा बिरामी सार्नुपर्ने र कतिपय अवस्थामा स्ट्रेचरमै बोकेर पुल पार गराउनुपर्ने बाध्यता छ । आकस्मिक अवस्थामा रहेका बिरामीका लागि यो झन् ठूलो चुनौती बनेको अस्पताल प्रशासनको भनाइ छ ।
‘यहाँ उपचार सम्भव नहुने बिरामीलाई काठमाडौं रेफर गर्नुपर्छ । तर, पुल नहुँदा बिरामीलाई गाडी फेरेर लैजानुपर्ने, स्ट्रेचरमा बोकेर पुल पार गराउनुपर्ने अवस्था छ । आकस्मिक बिरामीलाई अस्पतालसम्म ल्याउन पनि उत्तिकै कठिन छ,’ निर्देशक लामाले भने ।
यो समस्या बिरामीलाई अस्पतालसम्म ल्याउने र जीवित व्यक्तिको उपचारमा मात्रै सीमित छैन । मृत्यु भएका व्यक्तिको शव ओसारपसार गर्नसमेत पुलको अभाव बाधक बनेको छ । पोस्टमार्टमका लागि अस्पताल ल्याइने शवसमेत बोकेर पुल पार गराउनुपर्ने अवस्था रहेको लामाले बताए ।
बिरामीले उपचारका लागि अस्पताल पुग्नै सङ्घर्ष गर्नुपर्ने र मृतकका आफन्तले शव ओसार्नसमेत कठिनाइ भोग्नुपर्ने अवस्था कायम रहनुले बाढीपछि यातायात सम्पर्क सहज नहुँदाको मानवीय पीडा देखाउँछ ।
नदीपारिका नागरिकका लागि वैकल्पिक स्वास्थ्य सेवा
पुलमा सवारीसाधन चल्न नसक्दा नदीपारिका नागरिकलाई उपचारका लागि त्रिशूली अस्पताल आउन कठिन भएको छ । यस्तो अवस्थामा स्थानीय नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले अस्पतालले वैकल्पिक व्यवस्था गरेको छ ।
निर्देशक लामाका अनुसार नदीपारि रहेको आयुर्वेद अस्पतालमा आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा एकाइ स्थापना गरेर आधुनिक चिकित्सा पद्धतिअन्तर्गतको उपचार सेवा सञ्चालन गरिएको छ । उक्त सेवाका लागि १८ देखि २० जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
‘वारीका बिरामीलाई अस्पतालबाटै सेवा दिइरहेका छौँ । पारीका नागरिकका लागि आयुर्वेद अस्पतालमा आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा एकाइमार्फत एलोपेथी सेवा सुरु गरेका छौँ । प्रदेश सरकारको समन्वय र सहकार्य तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा हाम्रा स्वास्थ्यकर्मी परिचालन गरेर उपचार सेवा दिइरहेका छौँ,’ लामाले भने ।
वैकल्पिक सेवा सञ्चालन गरिए पनि सवारीसाधन आवतजावत गर्न सक्ने पुलको अभावले गम्भीर बिरामीको उपचार र उद्धारमा देखिएको समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन ।
औषधि र स्वास्थ्य सामग्री ल्याउनसमेत कठिन
पुल नहुँदाको असर अस्पतालमा बिरामीको सङ्ख्या घट्नुमा मात्रै देखिएको छैन । अस्पतालको नियमित सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्तिमा समेत समस्या भइरहेको छ ।
यातायातको सहज पहुँच नहुँदा आपूर्तिकर्तालाई अस्पतालसम्म औषधि र अन्य सामग्री पुर्याउन कठिन भएको निर्देशक लामाले बताए । समयमै सामग्री उपलब्ध हुन नसक्दा आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको अभाव हुन सक्ने जोखिमसमेत बढेको छ ।
‘अस्पताललाई दैनिक चाहिने औषधि र अन्य सामग्रीको आपूर्तिमा पनि एकदमै गाह्रो भइरहेको छ । समयमै सामान ल्याउन सकिने अवस्था छैन । यसले अस्पतालको नियमित सेवा सञ्चालनमा समेत समस्या सिर्जना गरेको छ,’ उनले भने ।
अस्पतालमा उपचारका लागि आउने बिरामीदेखि आवश्यक औषधि र स्वास्थ्य सामग्रीसम्मको आवागमन प्रभावित हुँदा स्वास्थ्य सेवा सञ्चालनमै चुनौती थपिएको छ ।
झोलुङ्गे पुलले मात्रै पुगेन, मोटरेबल पुलको प्रतीक्षा
बाढीपछि निर्माण गरिएको झोलुङ्गे पुलले पैदल यात्रुका लागि केही राहत दिएको छ । तर, बिरामीलाई एम्बुलेन्स तथा अन्य सवारीसाधनबाट सहज रूपमा अस्पताल ल्याउन, गम्भीर बिरामीलाई तत्काल अन्यत्र पठाउन र औषधि तथा स्वास्थ्य सामग्रीको नियमित आपूर्ति गर्न मोटरेबल पुल आवश्यक रहेको अस्पताल प्रशासनको भनाइ छ ।
विशेषगरी आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको उद्धारमा हुने ढिलाइ कम गर्न र अस्पतालको नियमित सेवा प्रभावकारी बनाउन सवारीसाधन सञ्चालन हुन सक्ने पुलको निर्माण अपरिहार्य बनेको छ ।
निर्देशक लामाले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा यातायात अवरोधको प्रत्यक्ष असर परेको भन्दै सम्बन्धित निकायलाई जतिसक्दो चाँडो मोटरेबल पुल निर्माण गर्न आग्रह गरेका छन् ।
‘मोटरेबल पुल बन्यो भने बिरामीलाई अस्पतालसम्म ल्याउन, काठमाडौं रेफर गर्न र औषधि तथा आवश्यक सामग्री आपूर्ति गर्न धेरै राहत हुन्छ,’ उनले भने ।
बाढीले क्षति पुर्याएका पुलको पुनर्निर्माणमा भइरहेको ढिलाइले त्रिशूली अस्पतालको सेवा र नागरिकको उपचार पहुँचमा निरन्तर असर पारिरहेको छ । झोलुङ्गे पुलले पैदल आवागमनको बाटो खोले पनि बिरामीको उद्धार, उपचार र औषधि आपूर्तिका लागि सवारीसाधन चल्ने पुलको प्रतीक्षा अझै बाँकी छ ।

