Harsamaya
पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि खतराको संकेत
तारानाथ दाहाल, महेन्द्र विष्ट र हरिहर विरही ।

काठमाडौं - पछिल्लो समय प्रहरी प्रशासनबाट संचारगृह र पत्रकारहरुमाथि भइरहेको धरपकडप्रति पत्रकार महासंघका पूर्वअध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन् ।

समाचार कक्षमा प्रहरी प्रवेश, समाचारको स्रोत खोज्ने तथा समाचार सामग्रीकै विषयलाई लिएर पत्रकार पक्राउ गर्ने घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठेको उनीहरुको भनाइ छ । 

उनीहरुले पत्रकारिता क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले यस्ता गतिविधि संविधान, कानुन र पत्रकारिताका स्थापित मूल्य मान्यताविपरीत भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पत्रकारमाथि भइरहेको हस्तक्षेपलाई सामान्य घटनाका रूपमा लिन नहुने उनीहरुको बुझाइ छ । प्रेस स्वतन्त्रता पत्रकारको पेसागत अधिकारमा मात्र सीमित विषय नभई नागरिकको सूचनाको हक र लोकतान्त्रिक व्यवस्थाको आधारभूत मान्यतासँग जोडिएको विषय भएको पूर्वअध्यक्षहरुको ठहर छ । 

हर समय कर्मी प्रमिला कार्कीसँगको कुराकानीमा पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, महेन्द्र विष्ट र हरिहर विरहीले पछिल्लो घटनाक्रमले राज्यको प्रेसप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाएको बताए ।

उनीहरूले पत्रकारलाई त्रासमा राखेर स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने प्रयास लोकतान्त्रिक व्यवस्थाका लागि उचित नभएको धारणा व्यक्त गरेका छन् ।

पूर्वअध्यक्ष हरिहर विरहीले पछिल्लो घटनालाई लोकतन्त्रमा कल्पना पनि गर्न नसकिने घटनाको संज्ञा दिए । पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप मात्र नभई लोकतन्त्रको भविष्यप्रति गम्भीर संकटको संकेत भएको उनले बताए ।

उनले नेपालको संविधानले नागरिकलाई प्रदान गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथि हस्तक्षेप हुनु गम्भीर विषय भएको उल्लेख गरे । यस्ता घटनाको जति निन्दा गरे पनि कम हुने भन्दै उनले पत्रकार र सम्पूर्ण सचेत नागरिकले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

उनले भने, ‘लोकतन्त्रमा कल्पना पनि गर्न नसकिने घटना हो यो । यसले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको संविधानले दिएको अधिकारमाथिको हस्तक्षेप मात्रै होइन, लोकतन्त्रको भविष्यप्रति गम्भीर संकटको संकेत गरेको छ । यस्ता घटनाको जति निन्दा गरे पनि कम हुन्छ । निन्दा मात्रै होइन, पत्रकार र सम्पूर्ण सचेत नागरिकले गम्भीरतापूर्वक लिन आवश्यक छ ।’

विरहीले प्रेस स्वतन्त्रतालाई पत्रकारहरूको मात्र अधिकारका रूपमा बुझ्न नहुने बताए । पत्रकारले स्वतन्त्र रूपमा समाचार संकलन, सम्पादन र प्रकाशन गर्न पाउने वातावरण नहुँदा त्यसको प्रत्यक्ष असर नागरिकको सूचनाको अधिकारमा पर्ने उनको भनाइ छ ।

उनले भने, ‘प्रेस स्वतन्त्रता भनेको पत्रकारहरूको अधिकार मात्र होइन, सम्पूर्ण नागरिकहरूको अधिकार हो र लोकतन्त्रको मेरुदण्ड हो । त्यसकारण राज्य संयन्त्रले यसमा हस्तक्षेप गर्नुभन्दा पहिले आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल गर्नुपर्छ ।’

विरहीले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने र यस्ता घटनामा संलग्न तत्वलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे । आगामी दिनमा जनताले समेत यस्ता घटनासँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक उठाउनुपर्ने उनको भनाइ छ ।

महासंघका पूर्वअध्यक्ष दाहालले पत्रकारमाथि भएको पछिल्लो धरपकड संविधान, कानुन र पत्रकारिताको मूल्य मान्यताविपरीत रहेको स्पष्ट भइसकेको बताए ।

राज्यका निकाय तथा सत्तारूढ दलले समेत उक्त गतिविधि गलत भएको स्वीकार गरिसक्दा पनि घटनाको जिम्मेवारी कसैले नलिनु गम्भीर विषय भएको उनको भनाइ छ ।

उनले राज्यका जिम्मेवार निकायबाटै भएको गल्तीको जिम्मेवारी लिने र दोषीमाथि कारबाही गर्ने विषयमा सरकार मौन रहनुले राज्य अराजकतामा फसेको सन्देश दिएको बताए ।

उनले भने, ‘पछिल्लो घट्नाक्रम गलत हो भन्ने कुरा राज्यका निकाय, सत्तारूढ दलले पनि भनिसकेका छन् । प्रधानमन्त्री स्वयं वा सचिवालयले भनिसक्यो । तर, यसको जिम्मेवारी कसैले लिएन । यस्ता घट्ना घटाउने को हो भन्ने पत्ता लगाउने र त्यसलाई कारबाही गर्ने कुरामा सरकारले आँखा चिम्लेको देख्दा सरकारबाट नै यस्तो भएको हो कि भन्ने पुष्टि हुन्छ । त्यसैले यसलाई एउटा राज्यको अराजकताको अवस्था भन्नुपर्छ ।’

दाहालले पत्रकारमाथिको धरपकडले प्रेसलाई मनोवैज्ञानिक त्रासमा राख्ने र प्रेसको आवाज कमजोर बनाउने काम गरेको बताए । प्रेसमाथि प्रत्यक्ष दमन गरेर स्वतन्त्र अभिव्यक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले यस्तो हस्तक्षेपले प्रेस स्वतन्त्रताको अभ्यासमा नकारात्मक प्रभाव पार्ने बताए ।

पछिल्लो समय प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गतिविधि बढिरहेको विषयमा उनले प्रेसको मूल्य मान्यताविपरीत हुने हस्तक्षेपले स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने प्रयास गरेको बताए । यद्यपि, नेपाली प्रेस आफ्नो स्वतन्त्रताका लागि सशक्त रूपमा अगाडि बढिरहेको उनको भनाइ छ ।

उनले भने, ‘प्रेसलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रतामाथि र मूल्य मान्यताविपरीत जुन किसिमले हस्तक्षेपहरू गरियो, त्यसले प्रेस स्वतन्त्रतालाई कमजोर बनाएको छ । बनाउने प्रयास भएको छ । तर, प्रेस पनि आफ्नो स्वतन्त्रताका लागि सशक्त ढङ्गले नै अगाडि आएको हुनाले स्वतन्त्रताविरोधी हस्तक्षेपका बाबजुद पनि आफ्नो स्वतन्त्र अभ्यासका लागि निरन्तर अगाडि बढिरहेको कुरा उल्लेखनीय छ।’

त्यस्तै, महासंघकै पूर्वअध्यक्ष डा.महेन्द्र विष्टले पत्रकारमाथिको धरपकडलाई खेदजनक घटनाका रूपमा व्याख्या गरे । समाचार कक्षमा प्रहरीको हस्तक्षेप, समाचारको स्रोत खोज्ने तथा समाचारको विषयलाई लिएर बिना पक्राउ पुर्जी पत्रकारलाई गिरफ्तार गर्ने प्रवृत्तिले सञ्चारमाध्यमको स्वतन्त्र अभ्यासमा अवरोध सिर्जना गर्ने उनले बताए ।

विष्टका अनुसार पछिल्लो घटनाक्रममा देखिएका यी गतिविधि एकअर्कासँग जोडिएका छन् । समाचार कक्षमै प्रहरी पुग्नु, समाचारको स्रोत खुलाउन दबाब दिनु र समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नुले पत्रकारिताको स्वतन्त्रतामाथि प्रत्यक्ष असर पार्ने उनको भनाइ छ ।

उनले भने, ‘पत्रकारहरूमाथिको धरपकड एकदमै खेदजनक कुरा छ । त्यसका पछाडिका वितृष्णाका कुराहरू झन् बढी पेचिलो बनेका छन् । एउटा समाचार कक्षमा प्रहरीको हस्तक्षेप, दोस्रो समाचारको स्रोत खोज्ने, तेस्रो समाचारको विषयमा बिना पक्राउ पुर्जी पत्रकारलाई गिरफ्तार गर्ने काम गम्भीर विषय हो । अनि त्यसपछि कसको आदेशमा, कसरी भएको छ भन्ने कुरामा एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने जुन प्रवृत्ति देखिएको छ, यसले मिडियाको स्वतन्त्र अभ्यासमा अवरोध उत्पन्न गर्छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्छ ।’

उनले यस्ता गतिविधिले लोकतान्त्रिक तथा संवैधानिक प्रणालीले स्थापित गरेका मान्यतालाई समेत सङ्कुचित बनाउने बताए । प्रेस स्वतन्त्रताप्रति राज्यको दृष्टिकोण स्पष्ट हुनुपर्नेमा जोड दिँदै उनले राज्यका निकायबाट हस्तक्षेपकारी भूमिका देखिनु चिन्ताजनक भएको बताए ।

उनका अनुसार पत्रकारितालाई नियन्त्रण गर्ने वा पत्रकारलाई त्रासमा राख्ने गतिविधिले नागरिकले स्वतन्त्र रूपमा सूचना प्राप्त गर्ने अधिकारलाई समेत प्रभावित पार्छ । त्यसैले राज्यले सञ्चारमाध्यमको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने नभई त्यसको संरक्षण गर्ने भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।

पत्रकारिताको मुख्य जिम्मेवारी राज्यका गतिविधि, सार्वजनिक चासोका विषय र नागरिकका सवाललाई बाहिर ल्याउनु हो । त्यसक्रममा समाचारप्रति असहमति वा गुनासो भए त्यसको निरूपण कानुनी तथा स्थापित प्रक्रियाबाट हुनुपर्ने हुन्छ । तर, समाचार कक्षमा हस्तक्षेप गर्ने, समाचारको स्रोत खोज्ने र पत्रकारलाई पक्राउ गर्ने प्रवृत्तिले स्वतन्त्र पत्रकारिताको वातावरण कमजोर बनाउने जोखिम रहन्छ।

तीन जना पूर्वअध्यक्षका अभिव्यक्तिले पछिल्लो घटनाक्रमले पत्रकारिता क्षेत्रलाई मात्र नभई समग्र लोकतान्त्रिक अभ्यासलाई प्रभावित पार्न सक्ने चिन्ता उजागर गरेको छ । उनीहरूले प्रेस स्वतन्त्रताको संरक्षण, घटनाको जिम्मेवारी निर्धारण र दोषीमाथि कारबाहीसँगै पत्रकारले निर्भिक रूपमा काम गर्न पाउने वातावरण निर्माण गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डिएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए। त्यस्तै दियोपोष्ट अनलाइनको कार्यालयमा पनि प्रहरी प्रवेश गरेको थियो । उक्त घट्नाप्रति चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update