Harsamaya
अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते, दुई जनालाई भारत रिफर
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बाँके - बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि उनीहरूलाई भारतको लखनउ रिफर गरिएको छ।

आइतबार बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीन वटा भट्टीमा विद्युत् सर्ट सर्किट भई आगलागी भएको हो। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको जनाइएको छ।

आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो। त्यसमध्ये जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनलाई बिहान ८ः४५ बजे थप उपचारका लागि भारतको लखनउ पठाइएको हो। उनीहरूको अवस्था मध्यम रहेको छ।

त्यस्तै, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव सामान्य घाइते भएका छन्। भारतको बहराइच जिल्लास्थित कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद पनि सामान्य घाइते भएका छन्।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको अन्य क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update