Harsamaya
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु–कुहिरोको चेतावनी
जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं - देशका हिमाली तथा पहाडी क्षेत्रमा आइतबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ भने हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

विभागले आइतबार राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान गरेको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ।

मौसममा आंशिक बदलीसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ। बिहानपख हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले यात्रामा निस्कँदा सावधानी अपनाउन आवश्यक छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update