बुटवल - नेपाली कांग्रेसका युवा नेता चित्रबहादुर केसीले बदलिएको कांग्रेसलाई सांगठनिक र वैचारिक रूपमा अघि बढाउने एजेन्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशन सुरु भएसँगै उनले केन्द्रीय नेतृत्वमा जाने औपचारिक तयारी थालेका हुन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी केसी कांग्रेसको १५औँ महाधिवेशनका लागि रूपन्देहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा नेपालदेखि प्रवाससम्म कांग्रेसको संगठन विस्तारमा सक्रिय हुँदै अहिले रूपन्देही केन्द्रित भएको हो ।
विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध केसीले विद्यालय इकाईको सचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । क्याम्पस अध्ययनका क्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा तथा त्रिचन्द्र क्याम्पस काठमाडौँमा समेत विभिन्न जिम्मेवारीमा रहेर विद्यार्थी संगठनमा काम गरेका थिए ।
विद्यार्थी राजनीतिपछि प्रवासतर्फ पुगेका केसीले नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति यूएईको २०६६ सालमा संस्थापक सभापति भएर जिम्मेवारी सम्हालेका थिए । यूएईसहित मध्यपूर्वमा कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका उनी प्रवासको अनुभवलाई नेपालको पार्टी संगठनसँग जोडेर अघि बढाउनुपर्ने पक्षमा छन् ।
समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका केसीलाई संगठन निर्माणसँगै वैचारिक विषयमा पनि रुचि राख्ने नेताका रूपमा कांग्रेसभित्र चिनिन्छ । उनी यसअघि दुईपटक महासमिति सदस्य निर्वाचित भइसकेका छन् । हाल उनी नेपाल प्रजातान्त्रिक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समिति विश्व सञ्जालका उपसभापतिको जिम्मेवारीमा छन् ।
केसीले कांग्रेसलाई पुरानै ढर्राबाट अघि बढाउन नसकिने भन्दै पार्टीको सांगठनिक र वैचारिक पुनःसंरचना आवश्यक रहेको बताउँदै आएका छन् । बदलिएको कांग्रेसलाई व्यवहारमै स्थापित गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।
‘धेरै साथीहरूले केन्द्रीय नेतृत्वमा जानका लागि सल्लाह दिनुभयो । प्रवासमा काम गरेका साथीहरूले पनि धेरै आग्रह गर्नुभयो । युवा र पाका सबै साथीहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन आग्रह गरेपछि मैदानमा उत्रिएको हुँ,’ केसीले भने ।
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि प्रवासमा सिकेको संगठन निर्माणको अनुभव, युवा पुस्ताको ऊर्जा र पार्टीको वैचारिक पुनःसंरचनालाई केन्द्रीय तहमा जोड्ने प्रयासका रूपमा अघि बढाउन चाहेको बताएका छन् ।
‘बदलिएको कांग्रेसलाई व्यवहारिक रूपमा स्थापित गर्न मेरो उम्मेदवारी हो । त्यसका लागि महाधिवेशन प्रतिनिधिहरूको साथ र समर्थनको अपेक्षा गरेको छु,’ उनले भने ।

