काठमाडौं - काठमाडौं उपत्यका भित्रिने नाकामा प्रहरीले ९८ ग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
सोमबार नागढुङ्गा सुरुङमार्गस्थित जाँच केन्द्रमा सवारीसाधन जाँच गर्ने क्रममा मोरङका २१ वर्षीय रामबहादुर गिरी पक्राउ परेका हुन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा सवार गिरीमाथि शंका लागेर जाँच गरेको थियो। सोही क्रममा उनको साथबाट ९८ ग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गिरी मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का बासिन्दा हुन्।
उनलाई बरामद लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

