Harsamaya

बझाङ - बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनापछि थप खोजी गर्ने क्रममा एक बालिकाको शव फेला परेसँगै मृतकको संख्या चार पुगेको हो । घटनामा संलग्न अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८३ कात्तिक ३० गते बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

भित्री कच्ची सडकखण्डमा गुडिरहेको अटो सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो । अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ ।

दुर्घटनामा घटनास्थलमै तीन जनाको शव फेला परेको थियो । त्यसपछि थप खोजी गर्ने क्रममा बुङ्गल नगरपालिका–१० निवासी करिब ४ वर्षीया रियास महराको शवसमेत फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० निवासी करिब ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र करिब ४ वर्षीय रियास महरा रहेका छन् ।

अटोमा सवार सोही ठाउँका करिब १२/१३ वर्षीय विक्रम महरा भने सकुशल घरतर्फ गएमन थिए । दुर्घटनाग्रस्त अटो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा चार जनाको टोली उद्धारमा खटिएको थियो । त्यसैगरी इलाका प्रहरी कार्यालय बुङ्गलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो ।

थप खोजी तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा सात जनाको टोलीसमेत परिचालन गरिएको थियो ।

अटो चालक बुङ्गल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update