रौतहट - स्कुटर दुर्घटनामा परी रौतहटमा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको हो ।
रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे अनियन्त्रित भई पुलमा ठोक्किएको थियो ।
दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवान गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएकोमा चिकित्सकले दिउँसो ४ः३० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा यमुनामाई नगरपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्रामका १७ वर्षीय सुनिल पासवान पनि घाइते भएका छन् ।
घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । दुवै घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

