काठमाडौं - मोरङमा लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।
मोरङको जहदा गाउँपालिका–४ सिसौबारी टोलस्थित मानिस नबस्ने जीर्ण घरबाट उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार दिउँसो करिब ३ः२० बजे लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मझारेबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घरमा खानतलासी गरेको थियो ।
सो क्रममा घरको कोठाभित्र शंकास्पद अवस्थामा रहेका चार जनालाई जाँच गर्दा उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने चिप्लो पदार्थ ७ ग्राम ७२० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–३ जयरामपुरका २४ वर्षीय मन्जित कुमार यादव तथा कटहरी गाउँपालिका–३ कामत टोलका २६ वर्षीय शिवम सिंह, २७ वर्षीय भरत कामत र ३० वर्षीय दुर्गेश कामत रहेका छन् ।
उनीहरूलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

