Harsamaya
धरानमा स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुनसरी - सुनसरीको धरानबाट ४९९ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। प्रहरीले चेकजाँचका क्रममा स्कार्पियो गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति करिब ११ः३० बजे धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा सवारीसाधन जाँच गर्ने क्रममा बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियोबाट गाँजाजस्तो देखिने पदार्थ बरामद भएको हो।

इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गाडी जाँच गर्दा ४९९ किलोग्राम (चार सय उनान्सय किलोग्राम) गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

गाँजासहित स्कार्पियो चालक मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका साह र बरामद गाँजासहितको स्कार्पियोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update