दैलेख - दैलेखमा घरायसी विवादका क्रममा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती र दुई सन्तानको मृत्यु भएको छ । घटनामा ६ वर्षीय छोरा गम्भीर घाइते भएका छन् ।
जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा ३८ वर्षीय अम्मर सलामी मगरले आफ्नै परिवारका सदस्यलाई दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार आज बिहान करिब ९ः३५ बजे सामान्य घरायसी विवाद हुँदा अम्मरले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिष्मा सलामीमाथि बन्चरो प्रहार गरेका थिए ।
बन्चरो प्रहारबाट गम्भीर घाइते चारै जनालाई उपचारका लागि दैलेखको दुल्लुस्थित नगर अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिष्मालाई मृत घोषणा गरेका थिए ।
गम्भीर घाइते मनिषा र ६ वर्षीय मिलनलाई थप उपचारका लागि बिहान ११ः५५ बजे सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको थियो । उपचारकै क्रममा दिउँसो २ः१० बजे मनिषालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।
घटनामा घाइते भएका ६ वर्षीय मिलनको अवस्था गम्भीर रहेको छ ।
स्थानीयले बिहान १० बजे प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा संलग्न अम्मर सलामी मगरलाई प्रहारमा प्रयोग भएको बन्चरोसहित नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

