Harsamaya
चम्पादेवी मेला भर्न जाँदै गरेको जिप ३५ मिटर तल खस्यो, नौ जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

ओखलढुङ्गा - ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा एक बालकसहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जना एक वर्ष र छ वर्षका बालक रहेका छन्।

सोमबार बिहान ७ः१५ बजे जिल्लाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको हो।

निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, सात वर्षीय आयुश मंग्राती, सात वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका छ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो।

घाइते सबैलाई उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update