काठमाडौं - नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान कोशी प्रदेशसहित गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा भने बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ। बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

