Harsamaya
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, बिहान हुस्सु लाग्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं -  हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार दिउँसो मधेश र कोशी प्रदेशलगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको तराई भूभागका साथै मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, राति देशका हिमाली क्षेत्र, कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने मौसम पूर्वानुमान गरिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update