Harsamaya
‘पैसा थिएन, तर कविता थियो’ : प्रज्वलको संघर्षदेखि ‘अस्तित्वको ब्रह्माण्ड’ सम्म (भिडियोसहित)
कवि श्रवण मुकारुङ, प्रतिसरा सायमी र दिनेश अधिकारीसँगै कृतिकार प्रज्वल अधिकारीका काका मुक्तिनाथ अधिकारी र हजुरबुवा माधव सुबेदीको संयुक्त रूपमा पहिलो कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’को विमोचन । तस्वीर : हर समय/Har Samaya

काठमाडौं - युवा कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा डबलीमा शनिबार आयोजित विशेष समारोहमा वरिष्ठ कवि तथा साहित्यकारहरूको उपस्थितिमा सङ्ग्रह विमोचन गरिएको हो ।

बुकहिल पब्लिकेसन प्रालिबाट प्रकाशित सङ्ग्रहमा अधिकारीका ७१ वटा कविता समेटिएका छन् । विमोचन समारोहमा सहभागी साहित्यकारहरूले ‘अस्तित्वको ब्रह्माण्ड’ले समकालीन नेपाली कवितामा युवा पुस्ताको संवेदना, सामाजिक यथार्थ, मानवीय अनुभूति र जीवनदर्शनलाई सशक्त रूपमा प्रस्तुत गरेको बताएका छन् ।

कवि श्रवण मुकारुङ, कवि प्रतिसरा सायमी र कवि दिनेश अधिकारीसँगै कृतिकारका काका मुक्तिनाथ अधिकारी र हजुरबुवा माधव सुबेदीले संयुक्त रूपमा सङ्ग्रहको विमोचन गरेका थिए ।

वरिष्ठ कवि श्रवण मुकारुङले ‘अस्तित्वको ब्रह्माण्ड’मा ज्ञान र चिन्तनको सुन्दर संगम रहेको बताए । उनले प्रज्वलमा कविताप्रतिको गहिरो लगावसँगै दार्शनिक चेत रहेको उल्लेख गरे ।

उनका अनुसार प्रज्वलको लेखन आवेग र परिष्कार दुवै प्रक्रियाबाट अघि बढेको देखिन्छ । ‘उनी कविता लेख्दा आफूलाई रोक्नै सक्दैनन् र पछि त्यसलाई अझ गहन तथा उत्कृष्ट बनाउँछन्,’ मुकारुङले भने ।


कवितामा शब्दको खेल मात्र नभई बलियो दर्शन र वैचारिकी आवश्यक हुने उल्लेख गर्दै उनले प्रज्वलका कवितामा पाइने विरोधाभासपूर्ण रूपक र गहिरो चिन्तनले उनलाई सशक्त कविका रूपमा उभ्याएको बताए ।

वरिष्ठ साहित्यकार प्रतिसरा सायमीले ‘अस्तित्वको ब्रह्माण्ड’ले वर्तमान समाजका तीता यथार्थ, मानवीय संवेदना र जीवनदर्शनलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताइन् ।

उनले युवा पुस्ताबाट आएको यो कृति नेपाली कविताका लागि आशालाग्दो र सशक्त सिर्जना भएको धारणा राखिन् । विशेषगरी ‘आमाको दीक्षान्त’ जस्ता कविताले पाठकको भावनालाई गहिरोसँग छुने उनको भनाइ थियो ।


‘जसलाई आमाले जीवनभर बोकिन्, उसले आज आमालाई बोकेको छ,’ भन्दै सायमीले प्रज्वलका कवितामा वर्तमान समाजका यथार्थ र मानवीय संवेदना गहिरो रूपमा अभिव्यक्त भएको बताइन् ।

उनले अधिकारीका कवितामा कलात्मक बिम्ब, समसामयिक चेत र भावनाको सुन्दर संयोजन रहेको उल्लेख गरिन् ।

वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले ‘अस्तित्वको ब्रह्माण्ड’ले वर्तमान समाज, परिस्थिति र पुस्ताको चाहनालाई गहिरो रूपमा समेटेको बताए ।

उनका अनुसार प्रज्वलका कवितामा न्याय, समता, प्रेम, स्वतन्त्रता, सद्भाव र एकताको तीव्र अभिलाषा देखिन्छ ।


‘उज्यालोको भोक र स्वतन्त्रताको भोक प्रज्वलका कवितामा अत्यन्तै धेरै छ, जहाँ न्याय, समता, प्रेम, सद्भाव र एकता मिसिएर एउटा सिंगो उज्यालो बनेको छ,’ उनले भने ।

नयाँ र गुणस्तरीय सिर्जनाको आगमनले समग्र कविताको क्षेत्रलाई नै फराकिलो बनाउने उल्लेख गर्दै अधिकारीले प्रज्वलको पहिलो कृतिलाई नेपाली कविताका लागि गर्वको विषय भएको बताए ।

‘आफूले हिँडेको कविताको बाटोमा जब कोही राम्रो कवि आउँछ, तब यो बाटो अझ फराकिलो र सुगम भएको महसुस हुन्छ । प्रज्वलको ‘अस्तित्वको ब्रह्माण्ड’ले मलाई आफैँभित्र गौरव गर्ने अवस्थामा पुर्‍याएको छ र यो गौरव गर्नु नै मेरा लागि पुरस्कृत हुनु हो,’ उनले भने ।

कृतिको विमोचनका क्रममा कवि प्रज्वल अधिकारीले आफ्नो साहित्यिक यात्रासँग जोडिएका संघर्ष र अनुभवहरू भावुक हुँदै सुनाए । उनले आफू २०६३ सालमा काठमाडौँ आउँदा गाडीभाडा तिर्नेसमेत पैसा नभएको स्मरण गर्दै अहिले आफूले ठूलो साहित्यिक परिवार पाएको बताए ।

उनले भने, ‘६३ सालमा काठमाडौं आउँदा मसँग गाडी भाडा तिर्ने पैसा पनि थिएन, पैसा त अहिले पनि छैन । तर मसँग अहिले धेरै परिवारहरू हुनुहुन्छ; कलेजको परिवार, विश्वविद्यालयको परिवार, ससुरालीको परिवार र यो सहरमा कहिले एक्लो हुन नदिने एउटा ठूलो साहित्यिक परिवार छ ।’


समारोहमा अधिकारीले आफ्ना चर्चित कविता ‘आकाशवाणी’ र ‘बा एक पहाड, म एक रूख’ समेत वाचन गरेका थिए ।

आफ्नो पहिलो कृतिप्रति आभार व्यक्त गर्दै उनले जीवनका विभिन्न भोगाइ र संघर्षलाई कवितामा उतार्ने प्रयास गरेको बताए । उनका अनुसार आफूले भन्न खोजेका धेरै कुरा ‘अस्तित्वको ब्रह्माण्ड’भित्रका कविताले नै बोलेका छन् ।

‘आज खास भन्नुपर्ने कुरा केही छैन, भन्नुपर्ने कुरा जति यही कविता–कृतिभित्र छन् । यो सहरमा हिँड्दै गर्दा र संघर्ष गर्दै गर्दा जीवनका विभिन्न आयामलाई मैले कवितामा उतार्ने प्रयास गरेको छु,’ उनले भने ।

अधिकारीले आफ्नो साहित्यिक यात्रामा साथ दिने अग्रज स्रष्टा, प्रकाशक, पाठक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सिर्जनात्मक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

७१ कवितामार्फत युवा कविको अनुभव, समाजप्रतिको दृष्टि, मानवीय संवेदना र स्वतन्त्रताको आकांक्षालाई समेटेको ‘अस्तित्वको ब्रह्माण्ड’ प्रज्वल अधिकारीको साहित्यिक यात्राको पहिलो कृतिका रूपमा नेपाली कविता क्षेत्रमा प्रवेश गरेको छ ।

तस्वीरहरु :

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update