Harsamaya
लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ विमोचन
लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ पुस्तक विमोचन ।

काठमाडौं - लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ पुस्तक विमोचन गरिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक समेत रहेका अधिकारीको कर्मवादलाई आधुनिक जीवन, राजनीति र राष्ट्रनिर्माणसँग जोड्ने पुस्तक ‘कर्मवाद : चिन्तन र अभ्यास’ पुस्तक आज विमोचन गरिएको हो । 

उनको उक्त पुस्तकको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कांग्रेस नेता अर्जुननरसिंह केसी, नेकपा (एमाले)का नेता रामेश्वर फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री सत्या अधिकारी, पूर्वसचिव कृष्णहरि बाँस्कोटा, राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दिप राई, कर्मवादका अभियान्ता मणिराम डङ्गोललगायतले संयुक्त रुपमा विमोचन गरे । 

कार्यक्रममा लेखक अधिकारीले कर्म, नैतिकता, जिम्मेवारी, पुरुषार्थ र सामाजिक उत्तरदायित्वलाई आधुनिक जीवन तथा राष्ट्रनिर्माणसँग जोडेर विश्लेषण गरिएको पुस्तक ‘कर्मवाद : चिन्तन र अभ्यास’ पाठकमाझ ल्याएको बताए । 

उनले पुस्तकले कर्मवादलाई केवल प्राचीन धार्मिक विश्वास वा दार्शनिक मान्यतामा सीमित नराखी आधुनिक जीवन र सामाजिक व्यवहारसँग जोडेर व्याख्या गर्ने प्रयास गरेको उल्लेख गरे । 

विज्ञान, प्रविधि, लोकतन्त्र, मानव अधिकार, विश्वव्यापीकरण र आधुनिक मनोविज्ञानले मानिसको जीवनशैली तथा सोचमा ल्याएको परिवर्तनलाई समेत कर्मवादको दृष्टिकोणबाट विश्लेषण गरिएको उनको भनाइ थियो । 

आधुनिक मनोविज्ञानले मानिसको व्यवहार र त्यसका परिणामलाई कारण–परिणाम, सोच, बानी, प्रेरणा तथा सामाजिक वातावरणसँग जोडेर अध्ययन गर्ने विषयलाई पुस्तकमा उल्लेख गरिएको लेखक अधिकारीले बताए । 

कर्मवाद र राजनीतिबीचको सम्बन्धलाई पुस्तकको महत्वपूर्ण विषयका रूपमा प्रस्तुत गरिएको लेखक अधिकारीले बताए । यस्तै, राजनीतिक नेतृत्व र राज्यका संस्थाले गर्ने कर्मले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सुशासन, भ्रष्टाचार नियन्त्रण, जनसेवा, लोकतान्त्रिक संस्कार, नैतिक नेतृत्व र सार्वजनिक उत्तरदायित्वमा कर्मवादी मूल्यहरूको महत्वपूर्ण भूमिका हुन सक्ने उल्लेख गरिएको छ ।

पुस्तकको समिक्षा गर्दै साहित्यकार एवम् पर्यटन विज्ञ डा चेतनाथ कँडेलले श्रीमद्भगवद्गीतामा उल्लेखित कर्मप्रतिको निष्ठा र फलप्रतिको आशक्तिबाट मुक्त रहने मान्यतालाई आधार बनाउँदै पुस्तकले मानिसलाई आफ्नो कर्तव्य र जिम्मेवारीप्रति इमानदार हुन प्रेरित गरेको बताए । 

उनले देशको समृद्धि भाषण र नाराबाट मात्र सम्भव नहुने भन्दै इमानदार कर्म, उत्पादनशील श्रम, सुशासन, सामाजिक न्याय र सामूहिक उत्तरदायित्वलाई समृद्धिको आधारका रूपमा पुस्तकले व्याख्या गरेको उल्लेख गरे । 

पुस्तकमा कर्मवादलाई सांख्य, योग र अद्वैत वेदान्तजस्ता विभिन्न दार्शनिक परम्पराको दृष्टिकोणबाट समेत व्याख्या गरिएको उनको भनाइ छ । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकमा कर्मवादका धार्मिक, दार्शनिक, सामाजिक, राजनीतिक तथा व्यावहारिक पक्षलाई समेटिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update