Harsamaya
सिन्धुपाल्चोक–२ को क्षेत्रीय सभापतिमा प्रकाश सर्वसम्मत, मेलम्ची नगर सभापतिमा सरोज
प्रकाश बस्नेत र सरोज बस्नेत ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षीय सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा प्रकाश बस्नेत चयन भएका छन्। मेलम्चीमा सम्पन्न क्षेत्रीय अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले क्षेत्रीय सचिवमा राजकुमार रायमाझी र अजय लामा तथा सहसचिवमा बलराम बानियाँ र मानबहादुर तामाङलाई चयन गरेको छ। महाधिवेशन प्रतिनिधि सुशान्त गिरिका अनुसार अधिवेशनले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिसमेत छनोट गरेको छ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २ (क) को सभापतिमा सूर्यप्रसाद कोइराला र २ (ख) को सभापतिमा रामशरण गिरी चयन भएका छन्। 

क्षेत्रीय नेतृत्व चयनसँगै मेलम्ची नगरपालिकाको नगर सभापतिमा सरोज बस्नेत चयन भएका छन्। नगरदेखि क्षेत्रीय तहसम्म नेतृत्व चयन भएपछि देउवा पक्षले संगठन विस्तार र कार्यकर्ताबीच समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्वसामु पार्टीभित्र एकता कायम गर्ने, स्थानीय तहमा संगठन बलियो बनाउने र जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने चुनौती छ। महाधिवेशनको तयारीसँगै नेतृत्व चयनको यो प्रक्रियाले सिन्धुपाल्चोक कांग्रेसभित्रको सांगठनिक सक्रियतालाई थप गति दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update