काठमाडौं - साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेका आरोपमा कुनै सत्यता नरहेको दाबी गरे पनि संसदीय सुनुवाइ समितिले उनको नाम अस्वीकृत गरेको छ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सदस्यहरूले सुनारमाथि लागेको महिला हिंसा, आर्थिक लेनदेन तथा जर्मनीबाट देश निकाला गरिएको भनिएको विषयमा प्रश्न उठाएका थिए।
जवाफमा सुनारले करिब १३ वर्षअघि एक महिलासँग प्रेम सम्बन्ध रहेको र त्यस क्रममा विवाद भएपछि ललितपुर प्रहरी कार्यालयमा मिलापत्र भएको बताएका थिए। फोनमा भएको कुराकानीलाई आधार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको र आफूविरुद्ध अधिकारपत्र लिएर अर्कै व्यक्तिले निरन्तर मुद्दा हाल्ने गरेको उनको दाबी थियो।
उनले आफ्नो नाममा हालसम्म कुनै उजुरी दर्ता नभएको र कुनै पनि फौजदारी कसुरमा दोषी नठहरिएको जिकिरसमेत गरेका थिए। त्यस्तै, सरुवा तथा बढुवामा ठूलो आर्थिक चलखेल गरेको भन्ने आरोपलाई उनले आधारहीन भन्दै त्यसको कुनै आधिकारिक पुष्टि नभएको बताएका थिए। जर्मनीबाट आफूलाई देश निकाला गरिएको भन्ने विषयमा पनि सत्यता नरहेको उनको दाबी थियो।
तर, सुनारले समितिमा उपस्थित भएर आरोपहरू अस्वीकार गर्दै स्पष्टीकरण दिए पनि संसदीय सुनुवाइ समितिले उनको नाम अस्वीकृत गरेको छ।

