Harsamaya
‘फर्किने बाटो’ नाटक ६ जिल्लामा पुग्दै, दसैँपछि देश दौडाहा
मण्डला थिएटरमा ‘फर्किने बाटो’ मञ्चनका क्रममा लिइएको तस्वीर ।

काठमाडौं - स्वास्थ्यसम्बन्धी सन्देशलाई नाटकमार्फत समुदायसम्म पुर्‍याउने उद्देश्यसहित मण्डला थिएटर नेपालले तयार पारेको नाटक ‘फर्किने बाटो’ दसैँपछि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मञ्चन गरिने भएको छ। स्वास्थ्य सचेतना र सामाजिक समावेशितालाई केन्द्रमा राखिएको नाटक कपिलवस्तुदेखि डडेलधुरासम्मका ६ जिल्लामा पुग्नेछ।

मण्डला थिएटर–नेपालले जर्मन विकास सहयोग संस्था (जीआईजेड) को स्वास्थ्य कार्यक्रमसँगको सहकार्यमा तयार पारेको नाटकको विशेष मञ्चन बुधबार काठमाडौँस्थित मण्डला थिएटरमा सम्पन्न भएको हो। अब कात्तिक ८ गतेदेखि सुरु हुने करिब दुई साताको यात्रामार्फत नाटकलाई स्थानीय समुदायमाझ पुर्‍याउने तयारी गरिएको छ।

नाटकका माध्यमबाट स्वास्थ्यसम्बन्धी जटिल विषयलाई स्थानीय कथा, संस्कृति र सामाजिक यथार्थसँग जोडेर प्रस्तुत गरिनेछ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका समुदायले भोगिरहेका स्वास्थ्यसम्बन्धी चुनौती, सांस्कृतिक सन्दर्भ र सामाजिक समावेशिताका सवाललाई नाटकले समेटेको छ।

मण्डला थिएटरले यसअघि स्थानीय मिथक, कथा र स्वास्थ्यका विषय समेटेर तयार पारेको ‘श्री बिजोभूत’ नाटकको संरचना र प्रस्तुति अनुभवलाई आधार बनाएर ‘फर्किने बाटो’ निर्माण गरेको हो। ‘श्री बिजोभूत’ मण्डला थिएटरमा तीन सातासम्म मञ्चन भएको थियो।

६ जिल्लाका समुदायमाझ पुग्ने नाटक
मण्डला थिएटरका अनुसार ‘फर्किने बाटो’ कात्तिक ९ गते कपिलवस्तुको विजयनगर गाउँपालिकामा मञ्चन हुनेछ। त्यसपछि कात्तिक ११ गते प्युठानको झिमरुक गाउँपालिका, १३ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र १५ गते अछामको पञ्चदेवल विनायक नगरपालिकामा प्रदर्शन गरिनेछ।

त्यस्तै, कात्तिक १७ गते बाजुराको त्रिवेणी नगरपालिका र १९ गते डडेलधुराको आलिताल गाउँपालिकामा नाटक मञ्चन गर्ने कार्यक्रम छ। यसका अतिरिक्त कात्तिक २० गते कैलालीको धनगढीमा पनि नाटक प्रस्तुत गर्ने योजना बनाइएको छ।

नाटकसँगै स्वास्थ्यसम्बन्धी अन्तरक्रिया र तालिम
यो अभियान नाटक प्रदर्शनमा मात्र सीमित रहने छैन। मण्डला थिएटरले स्थानीय स्तरमा स्थापना गर्न सहयोग गरेका नाट्य समूहहरूको क्षमता अभिवृद्धिका लागि तालिमसमेत सञ्चालन गर्नेछ।

त्यसैगरी, समुदायका सदस्य र स्थानीय स्वास्थ्यकर्मीलाई सहभागी गराएर स्वास्थ्यसम्बन्धी समस्या, तिनका सम्भावित समाधान र जनचेतनाका विषयमा अन्तरक्रियात्मक खेलहरू सञ्चालन गरिनेछन्। नाटक, तालिम र सामुदायिक अन्तरक्रियामार्फत स्वास्थ्यसम्बन्धी जानकारी विस्तार गर्नुका साथै सामाजिक समावेशितालाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

‘नाटकले भाषणभन्दा फरक ढङ्गले प्रभाव पार्छ’
नाटकको विशेष मञ्चनपछि प्रतिक्रिया दिँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका रङ्गमञ्च विभाग प्रमुख प्राज्ञ विजय विष्फोटले ‘फर्किने बाटो’ सांस्कृतिक पक्षसँग जोडिएको राम्रो प्रस्तुति भएको बताए। नाटकले दर्शकमा प्रभाव छाड्न सक्ने विश्वास उनले व्यक्त गरे।

त्यस्तै, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलले नाटकमा भाषण वा लिखित सामग्रीभन्दा फरक ढङ्गले मानिसलाई प्रभाव पार्न सक्ने शक्ति रहेको बताए। स्वास्थ्य बीमासम्बन्धी विषयलाई नाटकमार्फत समुदायसम्म पुर्‍याउने प्रयास सकारात्मक रहेको उनको भनाइ थियो।

सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागिता बढाउने, बीमालाई व्यवस्थित र नियमित बनाउन प्रेरित गर्ने तथा स्वास्थ्य बीमाप्रतिको बुझाइ फराकिलो बनाउने विषय नाटकमा समेटिएको उनले उल्लेख गरे।

स्वास्थ्यसम्बन्धी सूचना र सन्देशलाई स्थानीय भाषा, संस्कृति तथा जनजीवनसँग जोडेर प्रस्तुत गर्ने प्रयासले समुदायसँग प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने अपेक्षा मण्डला थिएटरको छ। 

जीआईजेडको स्वास्थ्य कार्यक्रमसँगको सहकार्यमा सञ्चालन हुने यो यात्राले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय नाट्य समूहको क्षमता विकासमा समेत योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update