Harsamaya

काठमाडौं - नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका काम एउटै प्रणालीबाट सञ्चालन गर्न सकिने सफ्टवेयर ‘जेजे लाइट’ सार्वजनिक गरिएको छ।

नेपाली गहना व्यवसायका लागि विगत आठ वर्षदेखि ‘जे–ज्वेलरी सफ्टवेयर’ मार्फत सेवा प्रदान गर्दै आएको मात्रिका टेक्नोलोजीले बिहीबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो।

गहना व्यवसायमा खरिदबिक्री, मौज्दात, कालिगढको हिसाब, लेखा व्यवस्थापन, ग्राहक विवरण तथा व्यावसायिक कागजात व्यवस्थित गर्न सहज बनाउने उद्देश्यले जेजे लाइट तयार गरिएको कम्पनीले जनाएको छ। नेपाली गहना व्यवसायको वास्तविक कार्यशैली र आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको यस प्रणालीले साना तथा ठूला व्यवसायलाई डिजिटल प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखेको छ।

जेजे लाइटमा बिक्री तथा बिलिङ, खरिद व्यवस्थापन, मौज्दात विवरण, कालिगढ व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन, कागजात व्यवस्थापन र अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्डमा आधारित लेखा व्यवस्थापनलगायत सुविधा समावेश छन्। नेपाली र अंग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिने यो प्रणाली कम्प्युटर, मोबाइल तथा ट्याब्लेटबाट समेत सञ्चालन गर्न सकिन्छ।

कम्पनीका अनुसार जेजे लाइटको प्याकेज मासिक ९९९ रुपैयाँदेखि उपलब्ध हुनेछ। इच्छुक व्यवसायीले कम्पनीको वेबसाइटमार्फत यसबारे जानकारी लिन सक्नेछन्।

गहना व्यवसायसँग जोडिएका थप डिजिटल सेवा
जेजे लाइटसँगै कम्पनीले गहना व्यवसाय र ग्राहकलाई लक्षित विभिन्न डिजिटल सेवाको अवधारणासमेत अघि सारेको छ। जेजे मार्टमार्फत गहना पसललाई डिजिटल बजारसँग जोड्ने, जेजे बचतमार्फत नियमित रकम जम्मा गरेर सुनचाँदी बचत गर्ने अवसर उपलब्ध गराउने तथा जेजे पात्रोमार्फत गहना व्यवसायसँग सम्बन्धित पात्रो र जानकारी उपलब्ध गराउने योजना छ।

त्यस्तै, कृत्रिम बुद्धिमत्तामा आधारित जेजे साथीले सफ्टवेयर प्रयोग तथा आवश्यक जानकारी प्राप्त गर्न सहयोग गर्ने, जेजे कम्युनिटीले व्यवसायीबीच ज्ञान र अनुभव आदानप्रदान गर्ने तथा जेजे पाठशालाले व्यावसायिक सिकाइ र ज्ञानका सामग्री उपलब्ध गराउने लक्ष्य राखेको छ।

गहना छनोटमा रुचि राख्ने ग्राहकका लागि ज्योतिषीय मान्यताअनुसार चिना तयार गरी रत्न तथा धातुसम्बन्धी सुझाव दिने सुविधालाई पनि कम्पनीले आफ्नो डिजिटल पहलमा समेटेको छ।

डेटा सुरक्षामा स्पष्ट सम्झौता आवश्यक
कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सफ्टवेयर निर्माण र त्यसको बजारीकरण फरक विषय भएको उल्लेख गर्दै डेटा सुरक्षा तथा स्वामित्वका विषयमा सुरुदेखि नै स्पष्ट हुनुपर्नेमा जोड दिए।

उनले सफ्टवेयर सेवा प्रदायक र ग्राहकबीच डेटा गोपनीयता, स्वामित्व, सेवा सम्झौता, क्लाउड सेवा, डेटा ब्याकअप तथा विपद्का बेला डेटा पुनःस्थापना गर्ने व्यवस्थाबारे स्पष्ट सहमति हुनुपर्ने बताए।

‘डेटा गोपनीयता र ओनरसीपबारे सम्झौतामै स्पष्ट पारिएन भने त्यसको सम्पूर्ण जिम्मेवारी कम्पनीमाथि नै थोपरिन सक्छ,’ अधिकारीले भने, ‘सफ्टवेयरलाई प्रयोगमैत्री र अन्तरक्रियात्मक बनाउनुका साथै क्लाउड सेवा, डेटा ब्याकअप र विपद् पुनःस्थापनाजस्ता संवेदनशील विषयमा सुरुमै ग्राहकसँग स्पष्ट सम्झौता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्छ।’

हालैका डेटा केन्द्रमा भएका ह्याकिङका घटनालाई उल्लेख गर्दै उनले सफ्टवेयर तथा डेटा सुरक्षासम्बन्धी जोखिमबारे सेवा प्रदायक स्वयं सचेत हुनुपर्ने बताए। ग्राहकलाई सेवा बिक्री गर्ने क्रममा गरिएका प्रतिबद्धताअनुसार डेटा हराउँदा वा क्षति पुग्दा जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।

‘सुरुमा बिक्री बढाउन जे पनि हुन्छ भन्ने तर पछि डेटा लस हुँदा जिम्मेवारी नलिने परिपाटीले कसैलाई फाइदा पुर्‍याउँदैन,’ अधिकारीले भने, ‘ग्राहकसँग ब्याकअप र डेटा सेन्टरको लागत तथा जिम्मेवारी खुलाएर सम्झौता गरेमा सफ्टवेयर विकासकर्ता र व्यवसायी दुवै सुरक्षित रहन सक्छन्।’उनले गहना व्यवसायलाई प्रविधिको प्रयोगमार्फत कागजी प्रक्रियामा निर्भरता घटाउँदै स्वचालित व्यवस्थापनतर्फ लैजाने प्रयास सकारात्मक भएको पनि बताए।

नेपाली कालिगढीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य
नेपाली गहना उद्योगको प्रमुख विशेषता कालिगढको सीप, सिर्जनशीलता र मौलिक डिजाइन भएको उल्लेख गर्दै कम्पनीले आधुनिक प्रविधि, गुणस्तर र व्यवस्थित व्यावसायिक प्रणालीको प्रयोगबाट नेपाली गहनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्य राखेको जनाएको छ।

जेजे लाइटले दैनिक कारोबार व्यवस्थापनमा मात्र नभई साना तथा मझौला गहना पसलको प्रविधिमा पहुँच बढाउन, कारोबारमा पारदर्शिता कायम गर्न र कालिगढ तथा व्यवसायीको व्यावसायिक क्षमता विस्तार गर्न सहयोग पुर्‍याउने कम्पनीको अपेक्षा छ।

कम्पनीले गहना व्यवसायमा महिलाको सहभागिता र संयुक्त व्यवस्थापनलाई समेत महत्त्व दिएको छ। श्रीमान् र श्रीमती दुवै मिलेर सञ्चालन गरेका पसल तुलनात्मक रूपमा बढी सफल देखिएको आफ्नो अनुभव रहेको कम्पनीले जनाएको छ।

गहना व्यवसायको परम्परागत सीप र आधुनिक प्रविधिबीच समन्वय गर्दै कारोबारलाई व्यवस्थित बनाउने तथा व्यवसायीलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यसहित जेजे लाइट सार्वजनिक गरिएको कम्पनीको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update