Harsamaya
गुडिरहेको जिपको ढोकाको लक खुल्दा खसेर यात्रुको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिन्धुली - सिन्धुलीमा गुडिरहेको बोलेरो जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान ९ः३० बजे कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा जिपको ढोकाबाट खसेर घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो।

प्रहरीका अनुसार घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार योञ्जनले ढोकाको लक समातेर बसेका थिए। सोही क्रममा अचानक लक खुलेपछि उनी जिपबाट खसेर घाइते भएका थिए।

घाइते योञ्जनलाई सोही जिपमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएको थियो। तर, बिहान ९ः५० बजे उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update