काठमाडौं - राजनीतिक दलभित्र विचारको प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन । नेतृत्व परिवर्तनका लागि संघर्ष हुनु पनि लोकतान्त्रिक अभ्यासकै एउटा हिस्सा हो । तर, एउटै पार्टीका नेताहरूले एकअर्काको अस्तित्व अस्वीकार गर्न थाल्नु, एउटै झण्डा र चुनाव चिह्नमाथि दाबी गर्दै समानान्तर गतिविधि सञ्चालन गर्नु र संवादको ठाउँमा कारबाहीको भाषा प्रयोग गर्नु भने सामान्य आन्तरिक विवाद होइन । नेपाली कांग्रेस अहिले यही अवस्थाबाट गुज्रिरहेको छ ।
कांग्रेसमा अहिले दुई वटा राजनीतिक दृश्य एकैसाथ देखिन्छन् । एउटा पक्ष गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति बनाएर पार्टीका गतिविधि अघि बढाइरहेको छ भने अर्को पक्ष शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशनको तयारीमा जुटेको छ । गगन पक्षले विशेष महाधिवेशनपछि १५औं महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ । देउवा पक्ष भने वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनको तयारीमा छ । दुवै पक्ष आफूलाई नेपाली कांग्रेसको वास्तविक उत्तराधिकारी ठानिरहेका छन् ।
निर्वाचन आयोगले मंसिर ९ गते गगन थापा नेतृत्वको कार्यसमितिलाई अभिलेखमा अद्यावधिक गरेपछि विवादले थप राजनीतिक र कानुनी जटिलता लिएको छ । तर, देउवा पक्षले आधिकारिकतासम्बन्धी कानुनी प्रश्न अझै निरूपण हुन बाँकी रहेको भन्दै आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ । उसले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । यसरी एउटै पार्टीका नाममा दुईवटा नेतृत्व र दुईवटा महाधिवेशनको अभ्यास भइरहेको छ ।
यो विवाद अब नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा मात्र सीमित छैन । पार्टीको नाम, झण्डा, चुनाव चिह्न र जनप्रतिनिधिको राजनीतिक भविष्यसम्म तानिएको छ । गगन पक्षले पार्टीको झण्डा र रूख चुनाव चिह्न प्रयोग गरेर समानान्तर गतिविधि सञ्चालन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिइरहेको छ । सभापति थापाले देउवा पक्षको महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही हुन सक्ने बताएका छन् । महामन्त्री प्रदीप पौडेलले पनि पार्टीको नाम, झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्नुपर्ने धारणा अघि सारेका छन् ।
यता देउवा पक्ष भने आफूहरू नै १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको निरन्तरता भएको दाबी गर्दै आएको छ । १५औँ महाधिवेशनको प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने बताएका छन् । नेता मोहन बस्नेत, जितजंग बस्नेत, कुन्दनराज काफ्ले लगायतले पनि आफ्नो पक्ष नै आधिकारिक कांग्रेस भएको दाबी गरिरहेका छन् । शुक्रबार नेता डा. शशांक कोइरालाले समेत १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा रहेको कांग्रेस नै आधिकारिक भएको बताएका थिए ।
यसरी दुवै पक्षका नेताहरू पार्टीको नाम र विरासत आफ्नो भएको दाबी गरिरहेका छन् । तर उनीहरूको दाबीबीच एउटा साझा प्रश्न हराइरहेको छ कांग्रेसलाई एकताबद्ध राख्ने जिम्मेवारी कसले लिने ?
कारबाहीको चेतावनीले समाधान हुन्छ संकट ?
कांग्रेसभित्रको पछिल्लो विवादलाई हेर्दा दुवै पक्ष संवादभन्दा शक्ति प्रदर्शनमा बढी केन्द्रित देखिन्छन् । एक पक्षले अर्को पक्षलाई पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोग गर्न नदिने चेतावनी दिइरहेको छ भने अर्को पक्ष कुनै हालतमा आफ्नो गतिविधि नरोकिने अडानमा छ । नेताहरूका सार्वजनिक अभिव्यक्तिमा राजनीतिक असहमतिको मर्यादाभन्दा व्यक्तिगत आरोप र कटाक्ष बढी सुनिन थालेका छन् ।
गगन पक्षमाथि सभापतिमाथि सांघातिक हमला हुँदा समेत समवेदना नदिई पार्टी कब्जा गरेको आरोप लगाइन्छ । देउवा पक्षलाई भने भ्रष्टाचारको आरोप लागेका नेताहरूको समूह भन्दै आलोचना गरिन्छ । यस्ता आरोप–प्रत्यारोपले पार्टीको वैचारिक बहसलाई कमजोर बनाएको छ । असहमति राख्ने नेतासँग संवाद गर्नेभन्दा उसलाई राजनीतिक रूपमा समाप्त पार्ने भाष्य निर्माण भइरहेको छ ।
नेतृत्वको प्रतिस्पर्धा लोकतान्त्रिक हुन सक्छ, तर प्रतिस्पर्धीलाई नै पार्टीको शत्रु ठान्ने प्रवृत्तिले संगठन बलियो बनाउँदैन । एउटा पक्षले अर्को पक्षलाई जोकर भन्ने, अर्कोले पहिलो पक्षको अस्तित्व अस्वीकार गर्ने र दुवैले आफूलाई मात्र कांग्रेस ठान्ने हो भने पार्टीको साझा पहिचान कसरी जोगिन्छ ?
निर्वाचन आयोगमा कार्यसमिति अद्यावधिक हुनु एउटा महत्त्वपूर्ण संस्थागत घटनाक्रम हो । तर त्यसलाई पार्टीभित्रको राजनीतिक एकताको विकल्प मान्न सकिँदैन । कानुनी प्रक्रियाले आधिकारिकताको प्रश्न सम्बोधन गर्न सक्ला, तर वर्षौँदेखि कांग्रेसमा योगदान गरेका नेता तथा कार्यकर्ताबीचको दूरी घटाउन सक्दैन। त्यो काम संवाद, सहमति र राजनीतिक उदारताबाट मात्र सम्भव हुन्छ ।
केन्द्रको झगडाले गाउँमा निराशा
कांग्रेसको यो विवादको सबैभन्दा ठूलो असर केन्द्रमा देखिने नेताहरूको प्रतिष्ठामा मात्र पर्दैन । यसको प्रत्यक्ष भार गाउँ र वडामा बसेर पार्टी संगठन निर्माण गरिरहेका कार्यकर्ताले बोक्नुपर्ने हुन्छ।
सिन्धुपाल्चोकका एक नेताका अनुसार केन्द्रमा देखिएको विवादले स्थानीय तहका कार्यकर्तासमेत अन्योलमा परेका छन् । उनका अनुसार कांग्रेस पहिले नै कमजोर अवस्थामा रहेको बेला नेतृत्वको विवादले कार्यकर्ताको मनोबल थप खस्काएको छ ।
'कांग्रेस नै दुईवटा भएपछि कसले कसलाई भोट दिने ? केन्द्रको झगडाले तल्लो तहका कार्यकर्ता पनि अन्योलमा छन् । यही अवस्था रहे स्थानीय निर्वाचनमा एउटा सिट जित्नसमेत कठिन हुन सक्छ,' ती नेताको चिन्ता छ । उनका अनुसार यसअघि ११ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा कांग्रेसले पाँच स्थानीय तहमा प्रमुख र तीन स्थानीय तहमा उपप्रमुख जितेको थियो । तर अहिले पार्टीभित्रको विवादले वडाध्यक्षको उम्मेदवारीसमेत सुरक्षित हुने अवस्था नरहेको उनको आँकलन छ ।
यो चिन्ता सिन्धुपाल्चोकमा मात्र सीमित छैन । देशभरका स्थानीय तहमा कांग्रेसका कार्यकर्ता दुई धारमा बाँडिँदा संगठनको एकीकृत शक्ति कमजोर हुने जोखिम छ । पार्टीको आधिकारिकता कसको भन्ने विवादमा केन्द्रका नेताहरू अल्झिरहँदा गाउँमा संगठन कसले सम्हाल्ने, चुनावी तयारी कसरी गर्ने र मतदातासम्म पार्टीको सन्देश कसरी पुर्याउने भन्ने प्रश्न अनुत्तरित छन् ।
अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय राजनीतिमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयासमा छ भने कम्युनिस्ट दलहरूबीच सहकार्यको सम्भावनाबारे पनि चर्चा भइरहेको छ । यस्तो अवस्थामा कांग्रेस एकताबद्ध भएर चुनावमा जाँदा पनि चुनौती कम थिएन । अब आन्तरिक रूपमा विभाजित भएर प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो भने त्यसको मूल्य स्थानीय तहका उम्मेदवार र कार्यकर्ताले चुकाउनुपर्नेछ ।
चुनाव जित्न संगठन, नेतृत्व र कार्यकर्ताबीचको विश्वास आवश्यक हुन्छ । तर अहिले कांग्रेसमा विश्वासभन्दा शंका, सहकार्यभन्दा प्रतिस्पर्धा र संगठन विस्तारभन्दा एकअर्कालाई निषेध गर्ने राजनीति हाबी हुँदै गएको देखिन्छ । केन्द्रका नेताहरूको शक्ति संघर्षले तल्लो तहको राजनीतिक भविष्य नै अन्योलमा पारिरहेको छ ।
एकताको पहल कहाँ चुक्यो?
कांग्रेसभित्र एकताको प्रयास अहिले मात्र सुरु भएको होइन । विशेष महाधिवेशनअघि पनि पार्टीभित्र सहमतिको खोजी भएको थियो । नेता डा. शेखर कोइरालाले विभिन्न सर्तसहित एकताको प्रयास गरेको र ती सर्तमा दुवै पक्षबीच सहमति जुट्न नसकेको बताएका थिए । कोइरालाका अनुसार सुरुमा गगन पक्ष सहमत हुन सकेन भने पछि देउवा पक्ष पनि सहमतिमा आउन तयार भएन ।
महाधिवेशनको पूर्वसन्ध्यामा पुरानो कार्यसमितिलाई नयाँ नेतृत्वमा समाहित गरिएको गगन पक्षको दाबी रहे पनि त्यसले देउवा पक्षका नेताहरूको असन्तुष्टि सम्बोधन गर्न सकेन । पुराना नेताहरूसँग पर्याप्त छलफल र सहमति नगरी गरिएको निर्णयले एकताको सन्देश दिन सकेन । बरु नेतृत्वको वैधता र राजनीतिक अस्तित्वको विवादलाई थप चर्कायो ।
एकता भनेको एउटा पक्षले अर्को पक्षलाई आफूभित्र समाहित भएको घोषणा गर्नु मात्र होइन । असन्तुष्ट पक्षको कुरा सुन्नु, उसको राजनीतिक अस्तित्व स्वीकार्नु र साझा भविष्यका लागि दुवै पक्षले केही त्याग गर्न सक्नु पनि हो । तर कांग्रेसमा एकताको भाषण सुनिए पनि व्यवहारमा त्यसको अभ्यास कमजोर देखिएको छ ।
सानेपाबाट एकताका लागि आउन आग्रह गरिन्छ, तर के त्यसका लागि देउवा पक्षका नेताहरूसँग औपचारिक र अर्थपूर्ण संवाद भएको छ ? के नेतृत्वको संरचना, जिम्मेवारी बाँडफाँट, महाधिवेशनको प्रक्रिया र पार्टीको भविष्यबारे साझा प्रस्ताव अघि सारिएको छ ? अथवा एकताको आह्वान गरेर अर्को पक्षलाई मात्र निर्णयको जिम्मेवारी थमाइएको छ ?
एकता चाहने पक्षले नै संवादको पहल गर्नुपर्छ । सामाजिक सञ्जालमा आह्वान गर्नु, भाषणमा मिल्न आउनु भन्नु र वास्तविक राजनीतिक वार्तामा बस्नु फरक कुरा हुन् । अर्को पक्षलाई आफ्नो अडान छाडेर आउन आग्रह गर्नु मात्रै एकताको पहल हुन सक्दैन ।
एकताको सम्भावना खोज्दै तटस्थता
कांग्रेसभित्रको विवाद चर्किँदै जाँदा वरिष्ठ नेता डा. शेखर कोइराला पक्ष भने शक्ति प्रदर्शनभन्दा पार्टी एकताको सम्भावना खोज्दै तटस्थ भूमिकामा उभिएको छ । १४औँ महाधिवेशनमा बलियो उपस्थिति बनाएको यो समूह अहिले खुम्चिएको देखिए पनि उसले एकताको प्रयासबाट आफूलाई अलग गरेको छैन । दुवै पक्षका छुट्टाछुट्टै महाधिवेशनले पार्टीलाई थप विभाजनतर्फ लैजाने चिन्तासहित शेखर पक्षका नेताहरूले अन्तिम समयसम्म पनि एकता महाधिवेशनका लागि पहल गरेका थिए ।
उनीहरू अझै पनि संवाद र सहमतिमार्फत पार्टीलाई एउटै ठाउँमा उभ्याउन सकिने विश्वासमा छन् । शक्ति कमजोर भए पनि एकताको सम्भावना जीवित राख्नु नै अहिलेको प्राथमिकता भएको उनीहरूको बुझाइ छ । कोइरालाको तटस्थताले काँग्रेस एकतालाई कति सार्थक बनाउँछ समयले बताउने नै छ ।
गिरिजाप्रसादको शान्ति प्रक्रियाबाट सिक्ने कि इतिहास बिर्सने ?
नेपाली राजनीतिक इतिहासमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको एउटा महत्त्वपूर्ण भूमिका थियो । हातहतियारसहित सशस्त्र संघर्षमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन संवाद र राजनीतिक सहकार्यको बाटो खोल्नु । १० वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने प्रक्रियामा उनले खेलेको भूमिका नेपाली राजनीतिमा सम्झिइरहने अध्याय हो ।
त्यतिबेला माओवादी र कांग्रेसबीच विचार, सिद्धान्त र राजनीतिक लक्ष्यमा ठूलो दूरी थियो । दुवै पक्षबीच अविश्वास पनि कम थिएन । तर, देशलाई द्वन्द्वबाट बाहिर निकाल्न संवाद आवश्यक ठानियो। राजनीतिक रूपमा फरक धारमा रहेका शक्तिलाई एउटै प्रक्रियामा ल्याउन नेतृत्वले जोखिम उठायो, पहल गर्यो र सहमतिको बाटो खोज्यो ।
आज कांग्रेसभित्रको विवाद सशस्त्र द्वन्द्वजस्तो गम्भीर परिस्थिति होइन । तर, आफ्नै पार्टीका नेता र कार्यकर्ताबीच संवादहीनता बढ्दै जानु पनि सामान्य विषय होइन । गिरिजाप्रसादले राजनीतिक रूपमा विपरीत ध्रुवमा रहेका शक्तिसँग संवाद गर्न सक्ने, तर अहिलेका नेताहरू आफ्नै पार्टीका सहकर्मीसँग एउटै टेबलमा बस्न नसक्ने अवस्था किन बनिरहेको छ ?
थापा पक्षले निर्वाचन आयोगबाट प्राप्त अद्यावधिकलाई आफ्नो राजनीतिक वैधताको आधार मान्न सक्छ । देउवा पक्षले अदालतमा विचाराधीन कानुनी प्रक्रियालाई आफ्नो दाबीको आधार बनाउन सक्छ । तर, यी दुवै तर्कले कांग्रेसका लाखौँ कार्यकर्ताको साझा भविष्यको प्रश्नलाई सम्बोधन गर्दैनन् ।
पार्टीको झण्डा र चुनाव चिह्न कसले प्रयोग गर्ने भन्ने विवादमा नेताहरूको ऊर्जा खर्च भइरहँदा कांग्रेसले आफ्ना कार्यकर्तालाई कुन राजनीतिक एजेन्डामा एकजुट बनाउने भन्ने प्रश्न ओझेलमा परेको छ । आगामी निर्वाचनमा मतदातासामु के लिएर जाने, संगठनलाई कसरी बलियो बनाउने र पार्टीको ऐतिहासिक विरासतलाई कसरी जोगाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने नेतृत्व अहिले एकअर्काको राजनीतिक अस्तित्वमाथि प्रश्न उठाउन व्यस्त छ ।
कांग्रेस विभाजनको औपचारिक घोषणा मात्र बाँकी हो ?
कांग्रेस अहिले औपचारिक रूपमा दुई पार्टीमा विभाजित भएको छैन । तर, व्यवहारमा दुई पक्षका अलग कार्यालय, अलग संगठनात्मक गतिविधि, अलग महाधिवेशन र एकअर्कामाथि कारबाहीको चेतावनीले विभाजनको जोखिम गहिरिँदै गएको देखाउँछ । कानुनी रूपमा पार्टी एउटै रहनु र राजनीतिक रूपमा एकताबद्ध रहनु एउटै कुरा होइन ।
पार्टी विभाजन सधैँ निर्वाचन आयोगमा नयाँ दल दर्ता भएपछि मात्र सुरु हुँदैन । कहिलेकाहीँ त्यो कार्यकर्ताको मनबाट सुरु हुन्छ । जब एउटा समूहका कार्यकर्ताले अर्को समूहको नेतालाई आफ्नो नेता मान्न छाड्छन्, जब एउटै चुनाव चिह्नका समर्थकले एकअर्कालाई प्रतिस्पर्धी ठान्न थाल्छन् र जब पार्टीको साझा कार्यक्रमभन्दा समूहगत स्वार्थ ठूलो हुन्छ, त्यहीँबाट विभाजनको मनोविज्ञान जन्मिन्छ ।
कांग्रेस अहिले त्यही जोखिमको नजिक पुगेको देखिन्छ । नेताहरूले सार्वजनिक मञ्चबाट एकताको कुरा गरिरहेका छन्, तर व्यवहारमा दूरी बढाइरहेका छन् । एक पक्षले अर्को पक्षलाई निषेध गर्ने र अर्को पक्षले पनि आफ्नो अडान नछाड्ने हो भने पार्टीको संगठनात्मक एकता कागजमा मात्र सीमित हुने खतरा छ ।
प्रश्न गगन थापा सही कि शेरबहादुर देउवा सही भन्ने मात्र होइन । प्रश्न त कांग्रेसका नेताहरू पार्टीलाई कुन दिशामा लैजान चाहन्छन् भन्ने हो । नेतृत्वको प्रतिष्ठा जोगाउने नाममा पार्टीको भविष्य दाउमा लगाउने कि व्यक्तिगत र समूहगत अडानभन्दा माथि उठेर संगठन जोगाउने ?
कांग्रेसका नेताहरूले अब एकअर्कालाई धम्की दिन र आरोप लगाउन खर्चिएको समयको केही हिस्सा संवादमा खर्च गर्नुपर्ने देखिन्छ । पार्टीको नाम, झण्डा र चुनाव चिह्नको स्वामित्वको विवाद कानुनी प्रक्रियाबाट टुङ्गिएला, तर कार्यकर्ताको मनमा परेको विभाजनको रेखा मेटाउन राजनीतिक इच्छाशक्ति चाहिन्छ ।
गिरिजाप्रसाद कोइरालाले विपरीत राजनीतिक धारसँग संवाद गरेर शान्ति प्रक्रियाको बाटो खोलेको इतिहास सम्झिने कांग्रेसले आफ्नै पार्टीका नेतासँग संवाद गर्न नसक्नु विडम्बना हो । एकताका लागि अर्को पक्षलाई बोलाउनु मात्रै पर्याप्त छैन आफू पनि संवादको टेबलमा पुग्न सक्नुपर्छ र त्यो वातावरण बनाउनुपर्छ ।
अन्ततः कांग्रेसलाई अहिले एकताको महाधिवेशन आवश्यक छ। नेताहरूको अहंकारले पार्टीको संगठन, कार्यकर्ताको भविष्य र मतदाताको विश्वासलाई थप कमजोर बनाउँदै लग्यो भने त्यसको हिसाब आगामी निर्वाचनमा मात्र होइन, कांग्रेसको राजनीतिक इतिहासले पनि माग्नेछ । अहिलेको प्रश्न कांग्रेस कसले चलाउने भन्नेभन्दा पनि कांग्रेसलाई कसरी जोगाउने भन्ने हो ।

