काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले शनिबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
उम्मेदवारीबारे आफूले आवश्यक नेताहरूसँग छलफल गरिसकेको बताउँदै बस्नेतले महामन्त्री पदमा चुनाव लड्ने निर्णयमा पुगेको स्पष्ट पारे।
‘जो–जो सँग सल्लाह गर्नुपर्ने हो, मैले लगभग सल्लाह पनि सकेँ। के हो भनेर सोध्ने मान्छेहरूलाई आजबाट म महामन्त्रीमा चुनाव लड्ने विषयमा तयार भएको छु,’ उनले भने।
उनले पार्टीमा आफूले इमानदारपूर्वक काम गर्दै आएको र आगामी दिनमा पनि त्यसरी नै खटिने प्रतिबद्धता जनाए। देशभरका नेता तथा कार्यकर्ताबाट आफूले उत्साह र साथ पाएको उनको भनाइ छ।
‘देशभरिका साथीभाइले जुन ढंगले म लागेको हुँ, त्यसमा उत्साह पनि भर्नुभएको छ,’ उनले भने।
देउवा पक्षको महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म हुँदैछ।

