कलेजबाट फर्केदै गर्दा बानेश्वरको आनन्दभूमि फुडल्यान्ड नजिकै आकाशबाट वर्षेको झरीले दर्हो चुट्यो । छिटो छिटो मोटरसाइकलबाट उत्रिएर त्यहाँ नजिकै रहेको एउटा क्याफेमा पसे र केहीबेर क्याफेको शान्त वातावरणमा कफीको चुस्की लिँदै मोबाइल स्क्रोल गर्नु पर्यो भनेर खाली टेबलमा कुर्सी तानेर बसे।
त्यसैबेला, मेरो पुरानो स्कूलको साथी विज्ञान भटियो।‘ओहो, गौरव लामो समयपछि भेट भयो।’ उसले मतिर हात फैलाउँदै आयो। हामीले हात मिलायौँ। उसलाई छेउको खाली कुर्सीतर्फ बस्ने इशारा गरेँ। लामो समयपछि, यसरी अचानक एउटै ठाउँमा भेटिनु आफैँमा अनौठो र रमाईलो संयोग थियो।
कुराकानीको सिलसिलामा ऊ केही महिना अगाडि आफ्नो मोटरसाइकल लिएर एक्लै रुकुमसम्म पुगेको बतायो र अरू कुरा बताउँदा न बताउँदै टेबलमा ठ्याक्क दुई कप कफी आयो। सुनौं न तिम्रो सम्पूर्ण जर्नीको कहानी, कफीको चुस्की लिदै मैले उसलाई अनुरोध गरे।
उसले सुरू गर्यो । जेठको अन्तिम हप्ताको कुरा हो, वीरेन्द्रनगर सुर्खेतबाट म आफ्नो मोटरसाइकल लिएर रुकुम जाने निधो गरेँ। काठमाडौँदेखि सुर्खेत, काठमाडौँदेखि पोखरा गरी दर्जनौंपटक ‘सोलो राइड’ गरिसक्या भएर यो यात्रा मेरो लागि खासै अनौठोको विषय थिएन।
रुकुमबाट सिधैं बाग्लुङ निस्किएर पोखरा मुग्लिन हुँदै काठमाडौँ फिर्ता हुने निधोले बिहान ९ बजे वीरेन्द्रनगरबाट हिँडे । पहिलो वैकल्पिक सडकका निम्ति दशरथपुर, गुमी, बोटेचौर हुँदै सल्लीबजारसम्म जोड्ने नवनिर्मित मध्यपाडी लोकमार्ग लिएको थिएँ । चिया ब्रेकका लागि केहीबेर सल्लीबजारमा रोकिए । पहिला सल्यान घुम्न आउँदा मलाई यहाँसम्मको बाटो नै धेरै लामो लागेको थियो । तर गन्तव्यको दूरी बढ्दै जादा बाटोको लम्बाईहरु छोटो लाग्दै जाने रहेछन्।
सल्लीबजारबाट चौरजहारी मुसिकोट जाँदै गर्दा भौगोलिक बनावट फरक भएको महसुस गर्न सकिन्छ। मौसम फेरिँदै जान्छ चिसो हावा बहन थाल्छ बोटबिरुवा रुख पातहरुमा केही हदसम्मको बदलावहरू देखिन्छन् । मध्य पहाडी राजमार्ग पुरै मखन छ।
यो मखन शब्द मैले एकजना मधेस प्रदेशको साथीबाट सिकेको हो। कलेजमा पढ्दा मैले उसलाई तेरो घरसम्मको बाटो कस्तो छ भन्दा उसले मखन छ भनेको थियो। मखन भनेको बाक्लो चिल्लो चौडाहा पीच सडक। पहाडको मनमोक दृश्य नियाल्दै स्वच्छ चिसो हावालाई फोक्सोभरि भर्दै अघि सर्दै थिए, बाटोले उकालो र पूर्वतिरको दिशा लिदैं थियो।
एउटा मसिनो उकालोपछि म रुकुमकोट पुगे। रुकुमकोट पूर्वी रुकुमको सदरमुकाम पनि हो। त्यहाँ रोकिएर मोटरसाइकल सुरक्षित ठाउँमा पार्क गरी कमल दह हेर्न गए । फूलभरिमा सबैभन्दा मनपर्ने फूल कमल भएर पनि होला मलाई कमल फुलेको मज्जाले नियाल्न मनपर्छ। हिल्ल्यामे भएका ताल पोखरी दहले आफ्नो सुन्दरता गुमाउँदा पनि कमलले त्यस ठाउँहरूमा फुलेर सुन्दरता भरिदिने काम गर्दछ। अझ भनौँ स्वरूप नै फेरिदिन्छ । त्यसैले कमल फूलेको मलाई गहिरिएर हेर्न मन लाग्छ ।
यसलाई मैले मानिसको जीवनसँग पनि जोड्ने गरेको छु। मानिसको एक सकारात्मक कार्य वा एक असल मित्र वा एक असल जीवन साथीले उसको जीवनमा भित्र्याउने सकारात्मक परिवर्तनको भान मलाई कमलले दिन्छ। आफूलाई फुलाउनु छ, हिलोलाई छोडेर होइन हिलोमाथि उठेर, उभिएर। हामी मानिसहरूमा पनि त्यही कुरा नै त लागु हुन्छ, होइन र?
रुकुम पूर्वलाई त्यसै हिमाली जिल्ला बनाएको होइन भन्ने कुरा त्यहाँका वातावरणले बताइरहेका थिए। पहाडभन्दा पनि फरक अग्ला पहाडी हरियालीदेखि चट्टानी ठाडा र असमान प्रकृतिका डाँडाकाँडा त्यहाँ देख्न सकिन्छ। विशाल पहाडमा ठूला रुखहरू होइन, साना र मझौला रूखहरू र कतै त घाँसे पहाड मात्र देखिन्थे।
आजको साँझ म तकसेराको कुनै होमस्टेमा बिताउन चाहन्थे। साँझ अबेरै भएपनि तकसेरासम्म पुग्ने अनि सन्ध्यामा त्यहाँको सेरोफेरो पुरै घुम्ने। साँझ कुनै संस्कृतिक कार्यक्रम भए अझ सुनमा सुगन्ध। उसै त भूमे पूजाको मुखमा आएको छु। तकसेरालाई मज्जाले अनुभव गर्ने मौका योभन्दा अरु कुन हुन सक्ला ? मनमनै हर्षित हुँदै मोटरसाइकलको ब्रेक लुकुममा लगाए । लुकुम गाउँ आफैंमा सुन्दर थियो। भिडियोमा हेरेको तकसेरा गाउँसँग मिल्दोजुल्दो ।
सडकको किनारमा एक जना अधवैंसे मानिस त्यही कै पोशाकमा एउटा हातमा चुरोट च्याप्दै उत्तर अर्थात लुकुम गाउँतिर फर्किएर गाउँलाई मज्जाले नियाल्दै थिए। उनीसॅग तकसेरासम्म पुग्ने बाटोबारे सोधे । ओहो! तपाईं त अलि अगाडि नै आइसक्नु भयो नि। काक्रीबाट माथि लाग्ने हो । तर केही छैन, त्यो परको हुलाकी पहाडी बाटोबाट पनि जान सक्नुहुन्छ। उनले औँलाको माध्यमले उक्त बाटोतिर इसारा गर्दै जवाफ दिए । अनि म त्यही रुट पछ्याउँदै अघि बढे। आकाशलाई कालो बादलले तीव्र रूपमा ढाक्दै आइरहेको थियो।
करिब २० मिनेट बाइक चलाउँदा नचलाउँदै बीचमा जोडले पानी पर्यो। छिटोछिटो मोटरसाइकलबाट ओर्लिएँ। धन्न बीचमा एउटा भवन रहेछ। त्यसैमा ओत लिए। बाहिरको पेटीमा झोला राखेर पानी रोकिने प्रतीक्षा गर्दा गर्दै साँझ पर्यो । पहाडको कच्ची बाटो अझ बीचमा के कस्तो होला ? बरु आज यतै लुकुममा बास बसेर बिहानै जानु पर्ला भन्दै मनन गरे । पछि पानी पनि रोकियो । फर्केर फेरि तल लुकुममा पुगे । त्यहाँ सिजाली दाईको होटल रहेछ। रुम खाली भए नभएको यकिन गरेँ । एउटा रुम लिएँ र मोटरसाइकल पार्क गरेँ।
एकछिन पछि बोर लागेर बाहिर निस्किदा होटलका सञ्चालक सिजाली पनि दाई बाहिरै रहेछन्। उनीसँग लुकुमको विषयवस्तुका बारेमा केही बताइदिन अनुरोध गरे। उनले भन्न थाले, ‘अब तपाईंलाई मैले भन्दा करण सिजालीले लुकुम गएको बेला गफ लडायो भन्नु होला । तर खवाङदेखि बाग्लुङ नपुग्दासम्म यताको सबै भाषा, कला, संस्कृतिको उद्गमस्थल यही नै हो।’
उनले भूमे पूजाबारे पनि केही बताउन थाले। ‘भूमेमा बाइस चाला नाच हुन्छ। तपाईले हेर्दा सबै उस्तै लाग्न सक्छ, तर सबै चाला मिलाएर ताल र धुनमा क्रमश कलात्मक ढङ्गले ढल्नुपर्ने हुन्छ। त्यसलाई निकै सूक्ष्म रूपमा नियालिन्छ।’ उनको कुराबाट मैले बाइस चाला नाच र भूमे पूजा बारे थोर बहुत जानकारी पाएँ। ‘पूजाको दिन अर्थात पर्सी, तल बेसीमा मेला लाग्छ, सबै गएर नाच्छन्, प्रतियोगिता नै हुन्छ । प्रतियोगितामा रुकुमकै विभिन्न समूह र रोल्पाका लिबाङ, थबाङतिरका समूहहरू पनि आई आफ्नो नाच र कला प्रस्तुत गर्छन्,’ उनले फेरी थपे ।
भोलीपल्ट बिहानै चेकआउट गरेर काक्री पुगेर खाजा खाएँ र तकसेरतिरको बाटो लागेँ। बाटो कच्ची रहेछ, कतैकतै त लास्टै खतम। मोटरसाइकल नै लडाइदिने खालका लोरेढुङ्गाहरू र कतै भने मध्यम खालका । उकालो चढ्दै गर्दा एउटा समूहले हात हल्लाउदै लिफ्ट माग्यो । उनीहरू तीन वटा मोटरसाइकल लिएर ६ जना जाजरकोटबाट घुम्न आएका रहेछन् तर एक जनाको मोटरसाईकलको पछाडिको सक्कर बिग्रिएपछि, दुई जना बोक्न सकेनछ। मैले एक जनालाई हाले र हामी त्यहाबाट लाग्यौँ। बाटो उकालो ओरालो रहेछ अनि पुरै कच्ची । बाटोको एक छेउबाट मज्जाले सिस्ने हिमालको दृश्य पनि देखिँदो रहेछ। हामी एकछिन त्यहाँ रोकियौ र फोटोहरू खिच्ने काम गर्यौ। पछाडि बसेको त्यो भाई अब मेरो साथी जस्तो भइसकेको थियो। ऊ सँग गफ गर्दै राइड गर्दा कतिबेला सारा पहाड छिचोलेर तल्लो सेरा हुँदै तकसेरा पुगेछौँ, पत्तै भएन।
तकसेरा, कैयौँ दिनदेखि मेरो मानसपटलमा एकछत्र राज गर्न सफल ठाउँ। नाम नै अनौठो अनि ठाउँ पनि। आज सिधैं मेरो आँखा अगाडि देख्दा लाग्यो, बिहानका सूर्यका किरणहरूले तक गाउँलाई अझै चम्काउँदै छन् ,मेरै लागि र मैले नै हेर्नका निम्ति । नभए त हिजो साँझसम्म पानी पर्दै थियो । त्यसो नहुँदो हो त आज पनि पानी पर्नुपर्ने। तल्लोसेरा, माथिल्लोसेरा र अरु गाउँहरूको समष्टि नै तकसेरा रहेछ । तकसेरा ‘तक गाउँ’। सयौँ घरधुरीहरू एउटै विशाल पहाडको काखमा शिरदेखि फेँदसम्म टक्क अढिएका। कुनै विशिष्ट चित्रकारले विचित्र रूपले निकै गहिरिएर आफ्नो क्यानभासमा उतारेको चित्रजस्तो । प्राय अधिकांश मगर बस्ती, जुन विशाल पहाडको काखमा बसेको छ। घरहरू मजाले टक्क स्थिर भएर अढिएका छन्। त्यहाँ एउटा सानो बजार पनि छ।
तकसेराले पूर्ण रूपमा पर्यटन बुझेको मलाई भान भयो। यद्यपि विकासात्मक कार्यहरू गर्न अझ बाँकी त छँदैछ। पाहुनाहरूलाई गरिने पर्यटकीय स्वागत, सम्मान, स्वच्छ ताजा सफा खानेकुराहरू, वातावरण पनि त्यस्तै राम्रो, एक सुगम सहर सरहको मूल्यसूची, मानिसको बोलीचालीको मिठोपन, यी सबै मोहिनी लगाउने खालका थिए । हामीले मिस्यु रेस्टुरेन्टमा गएर खाजा खायौँ र खोला पारिबाट तकसेराको पूरै दृश्य राम्रोसँग देखिन्छ भनेर साहुजीले सल्लाह दिए । उही अघि भेटेका भाइ साथीहरूसँग पारि पुगियो र सबैजना हर्षोल्लासका साथ रमाउन थाले।
अनि घन्किन सुरु भयो सबैको मोबाइल फोनमा नेपथ्य ब्यान्ड, अमृत गुरुङको आवाजमा रहेको ;
तकसेरा झरौँला, दम्छनमा बसौँला
ढोरपाटनमा घरजम गरौँला
शिरफूल शिरैमा..
हामी फेरि पुन मिस यु रेस्टुरेन्टमा फर्कियौँ। त्यहाँ पुगेर एकछिन थकाइ मार्यौ । मैले अब आफू यताबाट ढोरतर्फ निस्किने कुरा बताएँ । होटलका साहुजीले बाटो राम्रै रहेको, भर्खरै खुलेको बाटो भएकाले अलि कच्ची भएता पनि सजिलै जान सकिने बताए । अगाडि एउटा मन्दिर छ, बाटो केही कच्ची र हिलाम्मे हुन सक्छ तर बिस्तारै गए मजाले पुगिन्छ। साउनीले पनि थपिन्।
सबैसँग बिदा मागेर त्यहाँबाट निस्किएँ । खोला कटिसकेपछि ढोर निस्किने बाटोबारे जानकारी लिने क्रममा एक जना पात्रसँग परिचय भयो। उनी त्यहाँका वडाध्यक्ष रहेछन् । वडाध्यक्षसँग पनि केहीबेर बात मारियो। उनले यो पहाडको बाटो एक्लै सकेसम्म नजान सुझाव दिए । मैले जे गरेपनि नमान्ने देखेपछि उनले अब बाटो सिकाउने काम गरे । उनले सिकाएको बाटो पछ्याउँदै म अघि बढेँ।
अगाडि स-साना, चिटिक्क परेका ढुङ्गाका घरहरू बढी देखिन्थे । खेतबारीमा प्रशस्त आलु रोपिएका थिए, र कतै मकै पनि देखिन्थे। बाटोको दायाँतिर खेतहरू त्यसभन्दा पर ठूलो भिरजस्तो पहाड ठडिएको थियो । बायाँ परतिर बाक्लो जङ्गल थियो र जङ्गलभन्दा पनि पर उत्तरगङ्गा नदी आफ्नै गतिमा बगिरहेको हृदयस्पर्शी दृश्य देख्न सकिन्थ्यो। निकै पर डाँडाको बीचमा पनि फाट्टफुट्ट घरहरु देखिन्थे।
त्यो दृश्य नियाल्दै राइड गर्दा मलाई कलेजमा सँगै पढेको एकजना साथीको याद आयो । ऊ बुर्तिवाङको थियो । उसको कुरा अनुसार उनीहरू आधा महिना ढोर र आधा महिना बुर्तिवाङ बस्थे रे। जग्गाजमिन पनि त्यहीअनुसारले व्यवस्थापन गरिन्थ्यो रे। खेतीबाली र मौसमअनुसार तल माथि गरिराख्नुपर्ने र अत्याधिक रूपमा त्यहाँ आलु फल्नेबारे उसले बताएको थियो । यहाँको दृश्य हेर्दा मलाई उसले भनेको। कताकता यस्तै पो हो कि भन्ने लागिरहेको थियो।
यस्तै यावत कुराहरूलाई मनन गर्दै जाँदा कतिबेला हो गाउँ बस्ती मेरो आँखाबाट धेरै पछाडि परिसकेका रहेछन्। अहिले मेरो सामु बडेमानको गेट थियो। गेटमा लेखिएको थियो “ढोरपाटन शिखर आरक्षमा हजुरहरुलाई स्वागत छ।” अब भने वरिपरि कतैकतै ससाना ढुङ्गाका गोठहरु मात्र देखिन्थे। अधिकांश जङ्गल। अझै भनौँ अब घना जङ्गल सुरु भइसकेको थियो। आकाशमा कालो बादलहरू मढारिँदै थिए। अनि जतिजति माथि लाग्दै गयो उति नै खराब बाटो पनि। उत्तरगंगा जोडले सुसाएको आवाज मात्र कानमा परिरहेको थियो।
करिब डेढ दुई घण्टाको राइडपछि मैले त्यहाँ एउटा स्वास्थ्य चौकी भेटे। स्वास्थ्य चौकी बाटोदेखि अलि तल गहिरोमा रहेको थियो।टक्कसँग मोटरसाइकल रोके त्यहाँ एक जना मान्छे बेन्चमा बसिरहेका थिए र अर्को एक जना महिला पेटीमा । हेल्मेट उतार्दै मैले आवाज दिए । सुन्नुस् न, अब यहाँबाट कति समयसम्ममा ढोरपाटन पुग्न सकिएला ? मैले देखिरहेको मानिसहरू भन्दा बाहेक, नेपथ्यबाट एउटा महिलाको आवाज आयो , ‘लाग्छ अझै तीन चार घण्टा’। उनले सायद मलाई भित्रबाट देखेको हुनुपर्छ तर मैले उनलाई बाहिरबाट देखेको थिएन । उनको आवाजमा मधुरता थियो। मेरा हरेक प्रश्नको जवाफहरू उनले मिठो मुस्कानका साथ दिँदैछिन् भन्ने कुरा उनको बोलीबाट प्रष्ट हुन्थ्यो । बाहिर बसेको मानिसहरू भने मतिर गहिरिएर हेर्दै थिए।
त्यहाँबाट करिब एक घण्टाको राइड लिई अगाडि बढ्दै गर्दा एउटा बडेमानको ढुङ्गासँग मेरो मोटरसाइकलको ब्रेकप्याड जोडले ठोकिन पुग्यो । मोटरसाइकल जहाँको त्यही ठ्याप्पै रोकियो। कुनै हलचल छैन, स्टार्ट त हुन्छ तर अगाडि बढ्दै बढ्दैन। लौ बर्बाद भयो भन्दै यता उता हेरे, चारैतिर घना जङ्गलभन्दा अरु केही छैन। दायाँमा भिरालो पहाड छ बायाँमा भिरालो छानो, त्यसको अझै बायाँ उही उत्तरगंगा बेगले सुसाउँदै छ। कता कताबाट हो सिनो कुहिएको गन्ध पनि आइरहेको छ। काग कौवाहरू वरिपरि कराउँदै, हुलकाहुल उड्दै छन् ।आफूले आफूलाई सम्हाल्दै दर्हो मानसिकता बनाएर १५/२० मिनेट हिँडिसकेपछि एउटा प्रतिक्षालाई भेटियो।
भोक प्यास लागेको छ तर न त खाने कुरा छ न त पिउने पानी । आकाशबाट पानी पर्ला जस्तो गर्दै थियो । पानी पर्यो भने बर्सिएको पानी पिउने मैले अठोट गरे। झोलामा हाई सुगर भएका क्यान्डीको पोको हालेको थिए। त्यही निकालेर खान सुरु गरे। र कुनै पनि हालतमा यो बसिरहेको ठाउँ अर्थात् प्रतिक्षालयलाई छोड्दै नछोड्ने मानसिकता बनाए।
ठिक एक घण्टा जस्तो पछि मैले अलि परबाट आफूतिर आइरहेको मोटरसाइकल को आवाज सुनेँ। ठ्याक्क मेरो अगाडि तीन वटा मोटरसाइकलमा तीन जना केटाहरू देखा परे । मैले जीवनमा राहतको लामो सास फेरेको त्यसै पल्ट हो। ठूलै राहत मिलेको महसुस भयो। उनीहरुलाई रोके र सबै कुराहरू भने। उनीहरू पनि हिजो साँझ जोडले पानी परेको बेला ढोरपाटन हुँदै तकसेरा जाने क्रममा राती यसरी नै बाटोमा फसेका रहेछन्।
केही बेर पछि बोलेरो पनि आइपुग्यो। त्यो बोलेरो तकसेराकै स्थानीय युवाहरूको रहेछ। उहाँहरूलाई पनि बाटोको सबै कुराहरू सुनाईयो । त्यसपछि सबैजना मिलेर मोटरसाइकल जहाँ रोकिएको थियो, त्यहीँसम्म गयौँ। सबैले मिलेर मोटरसाइकललाई बोलेरोमा हालेपछि फेरि तल तकसेरातर्फ लाग्यौँ।
तकसेरा पुगिसकेपछि मोटरसाइकल ग्यारेजमा लगेर बनाउन दिए। म चाहिँ बिहान पसेको मिस यु रेस्टुरेन्टमा फेरि छिरें। रेस्टुरेन्टका साहुजी, साहुनी र उनकी छोरी भित्रै थिए । मलाई देख्नेबित्तिकै साहुनीले मुस्कुराउदै सोधिन्, तपाई फेरि आउनुभयो ? मैले पनि जवाफ दिए, हजुर, तपाईंहरूको माया लागेर फेरि पस्न मान लाग्यो । अघिका ती भाइहरूले मलाई जिस्किँदै भन्न थाले दाइ, तपाईं अझै दुई चार दिन यतै बस्नुस्। भूमे पूजा पनि हेर्नुस्, वरिपरी सबै राम्ररी घुम्नुस, यहा रिल्याक्स गरिसकेपछि बल्ल यहाँबाट निस्किनुहोला तपाईँ फर्की फर्की यहीँ आउनुहुँदो रहेछ। तपाईँलाई यो ठाउँले बोलाएको जस्तो लाग्यो।
रेस्टुरेन्टका साहुजी त्यतिबेला मगर पोसाकमा ठाटिएर बाहिर निस्किदैं रहेछन्। उनलाई देखेपछि मैले ठट्यौली शैलीमा ल नाच्नुस् साहुजी अब रुकुम मैकोट गीतमा भने। वरिपरि हाँसोको माहोल छायो । त्यसपछि मैले खाजा खाएँ र केहीबेर आराम गरेँ। उता मोटरसाइकल पनि काम चलाउ तरिकाले बनिसक्या रहेछ। सबैसँग बिदा मागी म त्यहाँबाट निस्किए । बोलेरोवाला दाइलाई विशेष धन्यवाद र कृतज्ञता व्यक्त गरे।
अघिको टोलीसँग अप्ठ्यारो, हिलाम्मे र उकाली ओराली भएको बाटो छिचोल्दै तल लुकुमसम्म पुगियो। लुकुम पुगेपछि केहीबेर त्यहाँ फोटो खिच्यौँ। त्यसपछि उनीहरू बुर्तिबाङतिर लागे अनि मचाहिँ फेरि त्यही करण सिजाली दाइको होटलमा।
भोलिपल्ट बिहान सबेरै उठेँ। होटलबाट चेकआउट गरेर रुकुमकोटको ग्यारेजमा आफ्नो मोटरसाइकल बनाउन लगाए। मोटरसाइकल बनेपछि अब सबै समस्याको समाधान भएजस्तो महसुस भयो । त्यहाँबाट तुलसीपुर हुँदै काठमाडौं फर्किने सोच थियो । तर सल्यानको शीतलपाटी पुग्नासाथ अचानक मन बदलियो। काठमाडौं फर्किनुभन्दा बरू सुर्खेत नै पुगेर केही दिन तेतै बस्ने विचार आयो । त्यहीअनुसार यात्रा अघि बढाएँ। सल्यानको शितलपाटी, कुविण्डे दह हुँदै बालुवा सङ्ग्रहीको बीचबाट निस्किएको सडकको मनोरम दृश्यलाई नियाल्दै भर्खरै घटेका यावत कुराहरूलाई मनन गर्दै मोटरसाइकल कुदाउँदै थिए।
यस यात्राको क्रममा एकपछि अर्को गर्दै आएका ट्विस्टहरूले मलाई निकै गहिरिएर सोच्न बाध्य बनाईदिए। बाटो, यात्रा र गन्तव्य यी तीनवटै कुराहरू एक अर्काका परिपूरक रहेछन् भन्ने कुरा गहिरिएर महसुस गर्ने अवसर मिल्यो । यात्राको सुरुदेखि अन्तिमसम्म भेटिएका ती सबै मान्छेहरु, अहिले पनि मेरो मनस्पटलमा यथावत् जस्ताको तस्तै बसेका छन्। उनीहरूसँग भेट्दा, म बिल्कुलै कुनै बिरानो अन्जान ठाउँमा एक्लै भएको अनुभव भएन । सबैसँग परिचय गर्दै आत्मीयता गास्न पाउँदा निकै खुसीको अनुभव भयो।
‘एक्सक्युज मी सर, हजुरहरूलाई अरु केही ?’ क्याफेकी वेट्रेस आएर हामीलाई सोधिन्। हामी दुई जना भने गम्भीर मुद्रामा विषयवस्तु भित्र गहिरिएर डुबिरहेका रहेछौं। नो थ्यांक्स, अब हामी निस्किन्छौं। समय पनि भयो भनेर मैले उनलाई जवाफ दिएँ। पानी पनि रोकिसकेको रहेछ। बहिर मजाको घाम लागिरहेको।
उ अब विश्वभाषा क्याम्पसमा सन्ध्याकालीन कक्षा लिन जादैं रहेछ क्यारे। म चाहि आफ्नो बासस्थानतिर। बिल पेमेन्ट गरेर हामी दुवै जना त्यहाँबाट निस्कियौं। सिढीबाट ओर्लिदै गर्दा मैले उसलाई अविस्मरणीय यात्राको कहानीका लागि धन्यवाद दिँदै छिटै म पनि रुकुम घुम्नेछु र त्यहाँको पर्यटन र वस्तुस्थिति अनुभव गर्नेछु भने। समय मिलेसम्म फेरि भेटौला भनेर हामी दुवैजना छुट्टियौं। - गौरव जि.सी.

