
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका २ हजार ३ सय १६ जना घाईतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ । सरकारी तथ्याङ्क अनुसार सुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरेको छ । अरू के के भए ? मुख्य समाचारहरू ।
२ हजार ३ सय १६ जना जेनजी आन्दोलनका घाईतेले गराए उपचार
सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको जनाएको छ । सरकारी तथ्याङ्क अनुसार सुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरेको छ ।
अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये ४९ जनाको मृत्यु भएको सरकारले जनाएको छ । हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत छन् ।
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान् चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन बुधवार नवकन्याहरूको पूजा गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरूको पूजा गरेका हुन् ।
राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए । राष्ट्रपतिको सचिवालयका अनुसार बाल मन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरेका हुन् ।
जेनजी आन्दोलनका घाइतेहरुलाई सरकारद्धारा घाइते परिचयपत्र वितरण
गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरू घाइतेहरूलाई परिचयपत्र वितरण गरेका हुन् ।
दिपेन्द्रको परिचयपत्र उनकी पत्नी सँगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरूले घाइते परिचयपत्र पाएका हुन् । जेनजी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी बस्नेत ढलेका थिए । दैलेख घर भएका बस्नेतको हाल उपचार जारी छ ।
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
महोत्तरीको हरि पुवा नगरपालिका–१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
दशैं मान्न मुम्बईबाट घर फर्किएका शिवमको हत्या
दशैं मनाउन घर फर्किएका एक युवाको वीरगन्जमा हत्या भएको छ । मुम्बईमा काम गर्ने वीरगन्ज–११ रानी घाट निवासी शिवम साह मङ्गलवार राति वीरगन्जको गीता मन्दिर नजिक धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । गीता मन्दिर नजिकै दुई समूहबिच भएको भिडन्तमा शिवमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाइएको र उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
निवर्तमान प्रधानमन्त्री ओली लगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा काँग्रेसको आपत्ति
नेपाली काँग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक सहितका व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। नेपाली काँग्रेसले प्रेस वक्तव्य जारी गरी सरकारले राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोधपूर्ण निर्णय गर्न थालेको भनेर विरोध जनाएको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोग गठन भएको छ। उक्त आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको छ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस