Harsamaya
निवर्तमान प्रधानमन्त्री ओली लगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा काँग्रेसको आपत्ति
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली काँग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक सहितका व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। नेपाली काँग्रेसले प्रेस वक्तव्य जारी गरी सरकारले राहदानी रोक्का गर्ने र आफ्‌नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोधपूर्ण निर्णय गर्न थालेको भनेर विरोध जनाएको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोग गठन भएको छ। उक्त आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयका पूर्व सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका पूर्वप्रमुख (सीडीओ) छवि रिजालको पासपोर्ट पनि रोक्का गर्ने निर्णय भएको छ।

पाँचै जनालाई विदेश भ्रमण रोक्न राहदानी विभागलाई पत्राचार गरिएको छ भने स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय पनि भएको छ। यसलाई काँग्रेसले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार भनेको छ। यस्तै जेन जी आन्दोलनका नाममा आपराधिक कार्यमा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै नेपाली कांग्रेसले यसमा पनि आपत्ति जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update