Harsamaya
जेठ १२: मधेशमा मन्त्रिपरिषद् विस्तारदेखि प्रधानमन्त्रीले छिट्टै संसदमा सम्बोधन गर्नेसम्म
ग्राफिक्सः हर समय/Har Samaya

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी सदनलाई गराएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि बिपक्षी सांसदहरुले विरोध जनाएपछि रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका हुन् ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई मनोनयन गरेको छ ।कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्मालाई आज केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । यता, प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए ।  यस्तै,  मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै मेधश प्रदेश सरकारमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी सहभागी भएको छ ।  यता, कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए ।

समाचार : रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । यता, तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण सुरु गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार झोलुङ्गे पुल निर्माणको जिम्मा लिई अलपत्र पार्ने निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन सुझाव दिएको छ । यस्तै, सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्र्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् । नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएको जनाउँदै उहाँहरूले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसार त्यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गरे ।

अपराध : जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी लगायतका सरकारी कागजात बनाएको गम्भीर अभियोगमा अदालतले जिल्ला प्रहरी कार्यालय पर्साको नाममा पक्राउ पुर्जी जारी गरेको हो। यता,  रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो । यस्तै, सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीलाई कारबाही सिफारिस गरेको हो ।

खेलकुद : दक्षिण कोरियामा भएको याङ योङ जा टेबलटेनिस मिसन (वाइटिटिएम) अन्तरराष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गत आयोजित वाइटिटिएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालकी योङ्गी पौडेलले पहिलो स्थान हासिल गरेकी छन् । यही जेठ २ देखि १२ गतेसम्म दक्षिण कोरियाको इन्चोनमा भएको उक्त च्याम्पियनसिपमा नेपालकी युवा खेलाडी योङ्गी पौडेलले यू–१९ विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष ज्याकी महर्जनले जानकारी दिइन् ।

विश्व : गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। तीमध्ये ५ जनाको ज्यान एउटा आक्रमणमै गएको बताइएको छ। यो घटना इजरायल र हमासबीच अक्टोबर १० देखि लागू भएको युद्धविरामका बीच पनि गाजामा जारी हिंसाको पछिल्लो उदाहरण हो।  यता, उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो पछिल्लो गतिविधिलाई उत्तर कोरियाको निरन्तर जारी हतियार परीक्षण शृङ्खलाको अर्को कदमका रूपमा हेरिएको छ । यस्तै, अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्धी नयाँ संयुक्त पहलहरू सार्वजनिक गर्दै क्वाड सहकार्यलाई थप सुदृढ बनाउने घोषणा गरेका छन् । नयाँदिल्लीमा भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्कर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी र अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङबीच भएको उच्चस्तरीय वार्तापछि यी पहलहरू सार्वजनिक गरिएको हो । 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update