Harsamaya
जेठ ९: रास्वपा बारा जिल्लाको विस्तारित बैठकमा तनावदेखि खोलाले बगाउँदा दुई बालबालिका बेपत्तासम्म
ग्राफिक्सः हर समय/Har Samaya

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा तीव्र विवाद र तनाव उत्पन्न भएको छ । विवादका क्रममा आक्रोशित कार्यकर्ताहरूले बैठक स्थलमा उपस्थित प्रतिनिधिसभा सदस्य (सांसद) तथा केन्द्रीय नेताहरूलाई धक्का दिन थालेपछि प्रहरीले कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : प्रतिनिधिसभा सदस्य तथा रास्वापाका नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा सामान्य विवाद मात्र भएको तर ‘लखेटिएको’ भन्ने कुरा झुठो भएको बताएका छन् । प्रतिक्रिया दिंदै अन्सारीले हिडिरहेको दृश्यलाई लखेटिएको भनेर केही मिडियाले अतिरञ्जित गरेको बताए । यता, नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा सहभागी नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । शनिबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले बैठकको प्रक्रिया र पछिल्लो समय बाहिर आएका विषयवस्तुबारे स्पष्ट पारेका छन् । यस्तै,  नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शिक्षा प्रणालीलाई आत्मनिर्भर र जीवनोपयोगी बनाउने गरी सुधार आवश्यक रहेको बताएका छन् । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकामा एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परम्परागत मूल्य र आदर्शलाई जोगाउँदै समयअनुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

समाचार :  सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा  २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । यता, बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा यहाँका सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पिउने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो । यस्तै, मुगुको पूर्वी भेगमा पर्ने मुगम कार्मारोङ गाउँपालिका २, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार बेलुकी ६:५० बजे नदी किनारमा खेल्दैगर्दा उनीहरु बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी छ ।

अपराध :  सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।  यता,  प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज–१३ घर भइ हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । यस्तै, नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ । सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।

खेलकुद :  राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले कीर्गितानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । यता, कीर्तिपुरमा सम्पन्न १३ वर्षमुनिको प्रथम एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताअन्तर्गत आजका खेलमा हिमालयन क्रिकेट एकेडेमी, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर  र काठमाडौँ क्रिकेट एकेडेमीले जितेका छन् । आइरिस इभेन्ट प्रालिको आयोजनामा विश्वविद्यालयको लेबोरेटरी मावि चौरमा सम्पन्न उक्त प्रतियोगिताअन्तर्गत आजको  पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले बूढानीलकण्ठ क्रिकेट एक्सिलेन्स सेन्टरलाई नौ विकेटले हरायो । यस्तै, ‘पञ्चकन्या रूपन्देही सुपरलिग’ को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको २४औँ संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । 

विश्व : इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कैयौँ घाइते भएको जनाइएको छ ।  यस्ता, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी ) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू ( ग्रीन कार्ड धारकहरू ) लगायतका  अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा  कडाइ हुने जनाएको छ । विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मावन स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम  नियमको पालना गर्दछ जसले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगहरूको  विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशनहरू संशोधनसमेत गरेको छ । यता, ताइयुवानको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार उत्तरी चीनको साङ्सी प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना अझै बेपत्ता छन् । स्रोतका अनुसार ताइयुआन काउन्टीको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट भएर दुर्घटना भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update