Harsamaya
जेठ १०: सीमाविवाद मिलाउन समिति गठनेदेखि लिएर सुनकोसी र बागमतीमा चारको शव भेटियोसम्म
ग्राफिक्सः हर समय/Har Samaya

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

समाचार :  सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित सित्खा पुल नजिकै सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो। यता, रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्। शनिबार साँझ करिब ४ बजे पाँच जनाको समूह घुम्न गएका बेला नदी तर्ने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका – ९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो बागमती नदीमा डुबेर बेपत्ता भएका थिए। यस्तै, जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् । आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुरीमा हालसम्म कुनै कारवाही नभएको गुनासो गर्दै ब्यूरोको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।

राजनीति : परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व परिवेशअनुसार आर्थिक समृद्धि, सुशासन र राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडेर अघि बढाउनुपर्ने बताएका छन्। उनले परराष्ट्र सेवा केवल औपचारिक कूटनीतिक सम्बन्धमा सीमित नभई देशको आर्थिक विकास, लगानी प्रवद्र्धन, पर्यटन विस्तार र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे। यता, उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छिन् । सर्लाहीमा बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभइ देशबाट उन्मूलन हुनुपर्ने बताइन् । यस्तै, सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको कर दरका सम्बन्धमा आयोजित अन्तरक्रिया सांसदहरूले सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताए ।

अपराध : महोत्तरीमा घटना सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई अदालतले सफाइ दिइएको छ । विसं २०७८ मा लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरलाई आफ्नै देवर, ससुरालगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपीमध्ये १० जनालाई पाँच वर्षपछि महोत्तरी जिल्ला अदालतले सफाइ दिएको छ । 

खेलकुद : नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको  सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यता, नेपाली कांग्रेसका नेता एवं काठमाडौँ महानगरपालिका–१६ का पूर्वअध्यक्ष स्वर्गीय मुकुन्द रिजालको स्मृतिमा ‘मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता’ सुरु भएको छ । काठमाडौँ महानगरपालिका–१६ को आयोजनामा लैनचौर मैदानमा सुरु भएको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको आज काठमाडौँ महानगरपालिका–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले उद्घाटन गरे । यस्तै,  क्यानले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

विश्व : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानकाबीच आइतबार आफूले अमेरिकी वार्ताकारहरुलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताएका छन् । वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेकोले प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको उनले बताए । यता,अङ्गोलाको उत्तरी क्षेत्रमा शनिबार खानीमा गएको पहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रहरी प्रवक्ता गास्पर लुइस इनासियोले बेङ्गो प्रान्तको नाम्बुवाङगोङ्गो नगरपालिकामा गएको पहिरोमा परी मृत्यु भएका व्यक्तिमध्ये १३ जना एकै परिवारका सदस्य रहेको र दुई जना अझै हराइरहेको जानकारी दिए । यस्तै, सर्बियाको राजधानी बेलग्रेडमा सन् २०२४ को ट्रेन स्टेशन दुर्घटनाको कारण सुरु भएको विरोध आन्दोलनलाई निरन्तरता दिँदै शनिबार विशाल प्रदर्शन भएको छ। विरोध आन्दोलनमा एक लाख ८० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाएका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update