Harsamaya
जेठ १२: देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेशदेखि सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने 
ग्राफिक्सः हर समय/Har Samaya

सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आज पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । यता, नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोकेको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सबै सङ्गठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको हो । यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले आर्थिक अनुशासन कायम गराउने मुख्य लक्ष्य लिएर समितिले काम अघि बताएका छन् । बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरणसम्बन्धी विषयमा आज समितिले आयोजना गरेको बैठकमा उनले जनताले सुशासन खोजेको र त्यो आर्थिक अनुशासनबाट मात्र सम्भव हुने बताए । 

समाचार : दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुँदैछ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यसवर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले बताए । यता, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक रु एक करोड किसानलाई भुक्तानी भइरहेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोड बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ । यस्तै बस्न दे सरकार ! बाँच्न दे सरकार ! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । 

खेलकुद : सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डङ्गोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । यता, नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो ।  यस्तै, भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा आज भएको उक्त खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो ।

विश्व : अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेपछि बजारमा तुरुन्तै गिरावट देखिएको हो । यता, चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्‍याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ । यस्तै, पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तूनख्वामा सोमबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटना स्वात एक्सप्रेसवेको इस्माइला इन्टरचेन्ज क्षेत्रमा भएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update