
आज नयाँ कुमारी आर्यतारा शाक्यकाे विधिवत् रूपमा आसन ग्रहण गराइएको छ । साढे दुई वर्षीय आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन्। यस्तै आज पूर्व सभामुखहरू र पूर्व राष्ट्रियसभा अध्यक्षले कानून विपरीत लिएको सुविधा सवारी साधन फिर्ता गरेका छन् । वर्तमान सरकारले कानुन विपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई फिर्ता गर्न सूचना जारी गरेपछि उनीहरूले गाडी फिर्ता गरेका हुन् । अरू के के भए ? मुख्य समाचारहरू ।
नयाँ कुमारी आर्यतारा शाक्यकाे विधिवत रूपमा आसन ग्रहण
साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन्। शाक्य समुदायका १६ वटा बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रूपमा आज स्थापित गरिएको हो ।
नव घोषित कुमारी शाक्यलाई आज मध्याह्नको शुभ साइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो । विशेष बाजागाजासहित कुमारी घरमा विधिवत् रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइन्छ ।
पूर्वसभामुख र राष्ट्रियसभा अध्यक्षले फिर्ता गरे गाडी
पूर्व सभामुखहरु कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुनविपरीत सुविधा लिएको गाडी फिर्ता गरेका छन् । वर्तमान सरकारले कानुन विपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई फिर्ता गर्न सूचना जारी गरेपछि उनीहरूले गाडी फिर्ता गरेका हुन् ।
कानुनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएपछि उनीहरूले सुविधा लिइरहेका थिए । अर्थमन्त्रीले सामाजिक सञ्जालमार्फत उनीहरूले सुविधाका रूपमा लिँदै आएका सवारी फिर्ता भएको जानकारी आफूलाई भएको बताएका हुन् ।
एक घण्टामा खुल्यो नारायणगढ मुग्लिन सडक
तुइनखोला पहिरोका कारण करिब एक घण्टा रोकिएको नारायणगढ मुग्लिन सडक सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साढे ७ बजेदेखि लेदोसहित खसेको पहिरोले रोकिएको सडक साढे ८ बजे दुईतर्फी नै सञ्चालनमा आएको हो ।
डिभिजन कार्यालयको तयारी अवस्थामा रहेको सडक सफा गर्ने मेसिनले पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जनाइएको छ। पहिरो पन्छाइए पनि पानी परेकोले पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासन पालना गरि सवारी चलाउन ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।
पाँच लाखले छोडे काठमाडौं उपत्यका
नेपालीहरुको महान पर्व दशैं सुरु भएसँगै साढे पाँच लाखले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २सय ६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय रहेको उनले बताए । साथै दशैंको अवधिमा काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।
एमाले अध्यक्ष ओलीको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा युवा संघको आपत्ति
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने सरकारको निर्णय गम्भीर आपत्ति जनाएको छ ।
संघले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई विशुद्ध राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा आधारित रहेको आरोप लगाएको छ ।
युवा संघले जाँचबुझ आयोगले कुनै आधार वा प्रमाणबिनै प्रारम्भिक चरणमा नै ओलीमाथि शङ्का गरेर राहदानी रोक्ने निर्णय गरेको भन्दै त्यसको निन्दा गरेको हो । छानबिन नै नगरी कसैलाई अपराधी करार गर्ने गरी गम्भीर प्रकृतिको निर्णय गर्नु आपत्तिजनक रहेको संघका अध्यक्ष क्षितिज थेबेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
युवा संघले यो घटनालाई पूर्व प्रधानमन्त्रीको सम्पूर्ण जीवन देश र नेपाली जनताको हितमा समर्पित भएको तथ्यलाई समेत उपेक्षा गर्दै गरिएको अराजनीतिक कार्यका रूपमा लिएको छ ।
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
रौतहट प्रहरीले एक ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका–५ हनुमान मन्दिरबाट ना.६ ख. ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको अवस्थामा बरामद गरेको हो ।
ट्रक चालक, ट्रक र ट्रकमा लोड रहेको कफीको दाना, गुल, सेन्ट अतर, पान मसला, युरिया मल, सुर्ती, बिडी, हुका, लगायतको सामग्री बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । चाडपर्वको समयमा भन्सार छलेर ल्याइएको सामानसहित बरामद गरेको ट्रकलाई रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।