Harsamaya
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा युवा संघको आपत्ति
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले  पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने सरकारको निर्णय  गम्भीर आपत्ति जनाएको छ । 

संघले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई विशुद्ध राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा आधारित रहेको आरोप लगाएको छ । 

युवा संघले  जाँचबुझ आयोगले कुनै आधार वा प्रमाणबिनै प्रारम्भिक चरणमा नै ओलीमाथि शङ्का गरेर राहदानी रोक्ने निर्णय गरेको भन्दै त्यसको निन्दा गरेको हो । छानबिन नै नगरी कसैलाई अपराधी करार गर्ने गरी गम्भीर प्रकृतिको निर्णय गर्नु आपत्तिजनक रहेको संघका अध्यक्ष क्षितिज थेबेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

युवा संघले यो घटनालाई पूर्व प्रधानमन्त्रीको सम्पूर्ण जीवन देश र नेपाली जनताको हितमा समर्पित भएको तथ्यलाई समेत उपेक्षा गर्दै गरिएको अराजनीतिक कार्यका रूपमा लिएको छ । 

संघले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने तयारी भइरहेको भन्दै सरकारलाई यस्ता क्रियाकलापबाट पछि हट्न जोडदार माग गरेको छ । 

यसै सन्दर्भमा युवा संघले गृह मन्त्रालयले गत भाद्र २४ गतेको विध्वंसकारी गतिविधिमा संलग्न हुनेहरूलाई नियमित कानुनी कारबाही नचलाउने भनी गरेको निर्णयप्रति पनि कडा आलोचना गरेको हो । संघले गृह मन्त्रालयको सो निर्णय अत्यन्तै दुखद् र निन्दनीय रहेको र यसले कानुनी राज्यको उपहास गरेको ठहर गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update