
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जा मन्त्री गुहारेको छ । आइतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरित १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकोले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् । अरु के के भए ? मुख्य समाचारहरू ।
निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश जन रोक
भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको असोज १२ को निर्णयबारे जानकारी दिँदै सचिवालयले ओलीसहित , पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमणमा रोक लगाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन
सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समितिको वर्गीकरणपश्चात् त्यस आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयमार्फत परिचयपत्रको व्यवस्था गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको पुनःउपचार (फलो अप)का लागि अस्पताल तोक्ने र ती अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरुको सपना पूरा गर्नुपर्छ
जेनजीको आधिकारिक वार्ता टोलीले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमाथि कारबाहीको माग गरेको छ । काठमाडौंमा आयोजित वार्ता टोली घोषणा कार्यक्रममा बोल्दै टोलीका सदस्य प्रवेश दाहालले शहीद र घाइतेको सपना पूरा गर्न वर्तमान सरकारले जिम्मेवारी लिनुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रो माग भनेको तत्कालीन सरकार, विशेषतः केपी ओलीको सरकारलाई कारबाही गर्नुपर्छ भन्ने हो । गर्छ कि गर्दैन भनेर हामी आशावादी मात्रै भएर बस्न सक्दैनौं । अहिलेको सरकारले त्यसबारे स्पष्ट कदम चाल्नैपर्छ ।’
‘जेनजी’ प्रदर्शनका मृतक परिवारले पाए १५ लाख
गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका दुई मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति रकम वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई संघीय सरकारबाट प्राप्त रकम आज हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रत्येक मृतकका परिवारलाई राहतस्वरूप १० लाख र क्षतिपूर्तिबापत पाँच लाख गरी जम्मा १५ लाख रकम वितरण गरिएको बताए । यो रकम गृह मन्त्रालयमार्फत प्राप्त भएको थियो ।
प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।
सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्यो
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताए ।
अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते
अमेरिकाको ‘नर्थ क्यारोलिना’ राज्यको साउथपोर्ट सहरको वाटरफ्रन्ट बारमा शनिबार राति गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन् । बन्दुकधारीहरुले साउथपोर्ट याट बेसिनमा शनिबार राती ९:३० बजे मानिसहरुको भीडमा गोली चलाएको शहरको सार्वजनिक सूचना अधिकारी चिएन केचमले बताएका छन् । उनका अनुसार शंकास्पद व्यक्तिलाई सोधपुछ गरिएको थियो ।