
सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्र सारेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको हो । अरु के के भए ? मुख्य समाचारहरू ।
‘जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका परिवारलाई १५ लाख दिने’
नेपाल सरकारले यही भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई १० लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको छ । यसैगरी काजकिरिया खर्च, खाना खर्च र यातायात खर्चबापत प्रतिपरिवार पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको तर भाग्नेक्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीको हकमा उक्त निर्णय लागू नहुने सरकारले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यही बिहीबारको भएको बैठकमा मृतकका परिवारलाई दुई शीर्षकमा गरी १५ लाखका दरले आर्थिक सहायता दिने निर्णय भएको जानकारी दिए ।
माओवादी केन्द्र भंग
नेकपा माओवादी केन्द्र अब महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ । साथै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा सकिएको बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका अधिकांश प्रस्तावहरु स्वीकृत पनि भएका हुन् । अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गरिएको हो ।
कारागार फर्कन १० दिने ‘अल्टिमेटम’
सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहनेगरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको छ । कारागार फर्किन बाँकी कैदीबन्दीलाई असोज २० गते सोमबारभित्र कारागार फर्किन र सो समयभित्र नफर्किए प्रचलित कानुनबमोजिमको कारबाही हुने विभागले जनाएको छ ।
खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विषाक्त रक्सी सेवन गर्दा १९ को मृत्यु
रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि विषाक्त मदिरा सेवनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । क्षेत्रीय सरकारको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, तीमध्ये आठ जनाको मृत्यु प्रयोगशालामा पुष्टि भएको ‘मिथेनोल विषाक्तता’ का कारण भएको देखिएको छ । यस घटनामा संलग्न रहेको आशंकामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ र मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ । रूसमा सस्तो मूल्यमा पाइने घरेलु र अस्वीकृत मदिरा सेवनका कारण यस प्रकारका घटनाहरू समयसमयमा दोहोरिइरहेका छन् ।
प्रधानसेनापति ट्रफी–२०८२
यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतनातर्फ उपत्यका पृतना र गणतर्फ पुरानो गोरख गण प्रथम भएका छन् । प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा र जगदल गण द्वितीय घोषित भए । सेनाका १४ वटा टिम सहभागी उक्त प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश थियो ।विजयी टिम र खेलाडीलाई प्रधानसेनापति अशोकराज सिग्देलसहित पूर्वप्रधानसेनापति, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव, बलाध्यक्ष रथी, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पनि पुरस्कृत गरियो ।