-1759165251.jpg)
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउनका लागि एकै दिनमा एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन् ।आज दिनभर के के भए ? मुख्य समाचारहरू ।
जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले विजया दशमीका अवसरमा स्वदेश तथा देशबाहिर रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । सोमबार शुभकामना सन्देश दिँदै उनले दशैंको अवसरमा सबैलाई सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।
यस्तै, उनले पार्टीले जेनजीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको पनि बताए । उनले भने, ‘हाम्रो पार्टीले जेनजीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ ।
अरू नेताहरूको पनि राहदानी रोक्का हुनसक्ने जाँचबुझ आयोगको दाबी
भदौ २३–२४ को घटना सम्बन्धी जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगले थप केही व्यक्तिको राहदानी रोक्का र स्थान हद जारी हुनसक्ने जनाएको छ । तर, आयोगले प्रहरीलाई कसैको घरमा छापा मार्न वा अनुसन्धान गर्न भने निर्देशन नदिएको स्पष्ट पारेको छ ।
आइतबार सीआईबीले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको सालो भूषण राणाको घरसहित केही व्यक्तिका घरको खानतलासी लिएपछि जाँचबुझ आयोगको निर्देशन भन्दै चलेको हल्ला पूर्णतः निराधार भएको आयोगले जनाएको छ । आयोगका सदस्य तथा नेपाल प्रहरीका भूपू एआईजी विज्ञानराज शर्माले भने ‘प्रहरीले आफ्नो नियमित काम गर्नका लागि हाम्रो निर्देशन चाहिँदैन, त्यसमाथि भदौ २३–२४ को घटनासँग सम्बन्धित व्यक्ति र घटनाबाहेकका विषयमा हामीले केही भन्ने कुरा हुँदैन’।
मुख्य नेताहरूलाई जतिसक्दो चाँडो बिदा गर्न र सम्पत्ति छानबिन गर्न माग
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले २३ गते ‘जेनजी’ आन्दोलनले उठाएको मागअनुसार अहिलेको मुख्य नेताहरूलाई जति सकिन्छ छिटो बिदा दिनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेनजी’ को माग अनुसार अहिलेको मुख्य नेताहरूलाई जति सकिन्छ छिटो बिदा दिनुको साथै, आजसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने सङ्कल्प गर्नुपर्ने पनि बताए ।
पछिल्ली २४ घण्टामा बाहिरिए एक लाख ११ हजारभन्दा बढी यात्रु
काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउनका लागि एकै दिनमा एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन् ।
यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
७ घण्टापछि खुल्यो मुग्लिङ–नारायणगढ सडक खण्ड
तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिङ–नारायणगढ सडक खण्ड खुलेको छ । केही बेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।
आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको पिक अप भ्यान दुर्घटना, १३ जना घाइते
काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बोलेरो पिकअप दुर्घटना भएको छ । दुर्घटनामा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लाल ध्वज सुवेदीका अनुसार सुनकोसी गाउँपालिका ६ मरिन डाइभर्सन नजिकै बा २० च ९३१ नम्बरको बोलेरो पिक अप बिपी राजमार्गबाट सुनकोसी नदीमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए । पिकअपमा १९ जना यात्रु सवार थिए ।
घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा सशस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो । दुर्घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस