-1759151460.jpg)
काठमाडौं - भदौ २३–२४ को घटना सम्बन्धी जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगले थप केही व्यक्तिको राहदानी रोक्का र स्थान हद जारी हुनसक्ने जनाएको छ । तर, आयोगले प्रहरीलाई कसैको घरमा छापा मार्न वा अनुसन्धान गर्न भने निर्देशन नदिएको स्पष्ट पारेको छ ।
आइतबार सीआईबीले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको सालो भूषण राणाको घरसहित केही व्यक्तिका घरको खानतलासी लिएपछि जाँचबुझ आयोगको निर्देशन भन्दै चलेको हल्ला पूर्णतः निराधार भएको आयोगले जनाएको छ । आयोगका सदस्य तथा नेपाल प्रहरीका भूपू एआईजी विज्ञानराज शर्माले भने ‘प्रहरीले आफ्नो नियमित काम गर्नका लागि हाम्रो निर्देशन चाहिँदैन, त्यसमाथि भदौ २३–२४ को घटनासँग सम्बन्धित व्यक्ति र घटनाबाहेकका विषयमा हामीले केही भन्ने कुरा हुँदैन’।
हालसम्म जाँचबुझ आयोगले प्रहरीलाई कुनै पनि निर्देशन नदिएको उनले बताए । तर आइतबार राहदानी रोक्का गरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहितका व्यक्तिलाई झैँ अन्य व्यक्तिको राहदानी रोक्का हुनसक्ने उनले बताए ।
२३–२४ को घटनासँग सम्बन्धित व्यक्तिमध्ये जाँचबुझका क्रममा आशङ्कित भए त्यस्ता व्यक्ति सम्भावित कारबाहीका क्रममा सहजै फेला परुन् भन्नाका लागि थप केही व्यक्तिका राहदानी रोक्का वा स्थान हद जारी हुने सम्भावना रहेको उनको बताए ।