
काठमाडौं - साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन्। शाक्य समुदायका १६ वटा बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रूपमा आज स्थापित गरिएको हो ।
नव घोषित कुमारी शाक्यलाई आज मध्याह्नको शुभ साइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो । विशेष बाजागाजासहित कुमारी घरमा विधिवत् रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइन्छ ।
जीवित देवीका रूपमा पूजा-आज गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो । कुमारी छनोटका क्रममा गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँग सल्लाह तथा परामर्श गरिएको थियो । जसका लागि सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो ।