सिन्धुपाल्चोक - सिन्धुपाल्चोकसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा हिमपातसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। सिन्धुपाल्चोक जिल्लाका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव तथा धनजनको क्षति हुन सक्ने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।
प्रशासनले समुदायमा सुसूचित गरेर धानबाली नकाट्ने तथा काटिसकेको धान सुरक्षित स्थानमा भित्र्याउने व्यवस्था मिलाउन, पर्यटकीय क्षेत्र पाँचपोखरी, आमायाङ्ग्री, जुगल बेसक्याम्प र भैरवकुण्डलगायतका पदमार्गमा पर्यटकलाई जान नदिन तथा गइसकेका पर्यटकलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था गर्न अनुरोध गरेको छ।
त्यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न, जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा खोला, खोल्सा र नदीकिनारका बस्तीका बासिन्दालाई विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय तथा सम्बन्धित कर्मचारीलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन र स्थानीय समुदायसँग समन्वय गर्नसमेत अनुरोध गरिएको छ।
बाढीपहिरोसम्बन्धी जानकारी तथा आपत्कालीन सहयोगका लागि नेपाल मौसम विज्ञान विभागको हटलाइन ११५५, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

