
काठमाडौं - आगामी फागुनमा प्रतिनिधि सभाको चुनाव भएसँगै निर्वाचन तालिका फेरिने भएको छ । प्रतिनिधि सभा विघटन भएर आगामी फागुनमा चुनाव हुने भएपछि एकसाथ चुनाव हुने अवस्थाको अन्त्य हुन लागेको हो ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ म भएपनि प्रदेश सभाको चुनाव २०८४ सालमा हुनेछ । सोही वर्ष स्थानीय तहको समेत निर्वाचन हुनेछ । प्रदेश सभाको भन्दा पहिले स्थानीय तहको निर्वाचन हुनेछ ।
प्रदेश सभाको पछिल्लो चुनाव ४ मंसिर २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिने गरी चुनाव हुँदा २०८४ को मंसिर वरिपरि नै चुनाव हुनेछ । यस्तै स्थानीय तहको चुनाव २०८४ को वैशाख अन्तिम साता वरिपरि नै हुनेछ ।
आगामी फागुनमा हुने चुनावबाट आउने प्रतिनिधि सभाको कार्यकाल २०८७ सालसम्म रहनेछ । नयाँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।
विगतमा तीन वटै तहको चुनाव गर्दा संघीय सरकार पनि बिदा भएर नयाँ आउने चरणमा हुन्थ्यो । किनभने प्रतिनधि सभाको कार्यकाल समेत सकिने अवस्थामा रहन्थ्यो । अब भने त्यस्तो नहुने वातावरण बनेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तय भएको हो ।
जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । प्रतिनिधि सभाबाटै नयाँ सरकार बन्ने अवस्था नरहेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेका हुन् ।